न्यूजिल्याण्डमा नयाँ पुस्तालाई चुरोटमा प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९२ पटक पढिएको

 

न्यूजिल्याण्डले धुम्रपान निर्मूल पार्ने राष्ट्रिय लक्ष्य हासिलका लागि आगामी पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ बिक्रीमाथि प्रतिबन्ध लगाउने भएको छ । प्रतिबन्ध अनुसार आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको एक कानुन अनुसार सन् २००८ पछि जन्मेका व्यक्तिले चुरोट वा सूर्तीजन्य पदार्थ किन्न सक्ने छैनन् । 

बिहीबार न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले धुम्रपानमाथि व्यापक कठाइ गर्ने घोषणा गरेको थियो । सोही घोषणाअन्तर्गत एक कानुन ल्याएर नयाँ पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ ।

बिहीबारको घोषणामा सूर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न उपाय उल्लेख गरिएको छ । यसअन्तर्गत चुरोट बिक्री हुने स्थानको संख्या व्यापक घटाइने छ । चुरोट बिक्री हुने हालका ८ हजार स्थानलाई घटाएर ५ सय मा झारिने जनाईएको छ । त्यस्तै सुपरमार्केट र कर्नर स्टोरमा चुरोट राख्न पाइने छैन ।

स्वास्थ्य मन्त्री डा. आयशा भेरालले भनिन्, ‘युवापुस्ताले कहिल्यै धुम्रपान सुरु नगरुन् भनेर सुनिश्चित गर्न चाहन्छौं’। न्यूजिल्याण्डका चिकित्सक र स्वास्थ्य विज्ञले सूर्तीजन्य पदार्थसम्मको पहुँच सीमित पार्ने र चुरोटमा निकोटिन बन्देज गर्ने सरकारी कदमको स्वागत गरेका छन् ।

‘यसले मानिसलाई चुरोट छोड्न वा कम हानिकारक पदार्थ सेवन गर्न सघाउने छ’, ओटागो विश्वविद्यालयकी प्राध्यापक ज्यानेट हूकले बताइन्, ‘त्यस्तै, युवा पुस्ता निकोटिनको लतमा फँस्ने संभावना पनि कम हुन्छ ।’

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार न्यूजिल्याण्डले सन् २०२५ सम्म राष्ट्रिय धुम्रपान दरलाई ५ प्रतिशतमा घटाउने र अन्तत: निर्मूल पार्ने लक्ष्य राखेको छ । हाल त्यहाँका १३ प्रतिशत वयस्कले धुम्रपान गर्छन् । जुन दर एक दशकअघि १८ प्रतिशत थियो ।

न्युजिल्यान्डको दैनिक धुम्रपानको दर समयसँगै घट्दै गइरहेको पनि पाइएको छ । सन् २०१८ मा त्यहाँको धुम्रपान दर ११.६% थियो । एक दशक पहिले त्यहाँको धुम्रपान दर १८% थियो । तर, माओरी २९% र प्यासिफिकामा १८% भने धुम्रपान दर धेरै उच्चनै थियो । तस्बिर :स्पाईन हेल्थ 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित