दिल्लीको घरहरुमा बाहिर भन्दा भित्र झन् बढी वायु प्रदुषण

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १०५ पटक पढिएको

 

एउटा नयाँ अध्ययनले भारतको राजधानी दिल्लीका घर र भवनभित्र बाहिर भन्दा बढी वायु प्रदुषण रहेको देखाएको छ । भवनभित्र पाइएको फोक्सोलाई बिगार्ने प्रदूषकको मात्रा (पीएम २.५) खुल्ला स्थानमा रहेका सरकारी वायु प्रदूषण मापन यन्त्रमा भन्दा बढी भएको अध्ययनले देखाएको छ । 

शिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० मा दिल्लीका विभिन्न आर्थिक र सामाजिक पृष्ठभूमिका हजारौँ घरहरूको अध्ययन गरेको थियो । दिल्ली संसारको सबैभन्दा प्रदूषित राजधानीको सूचीमा नियमित रूपमा शीर्ष स्थानमा रहँदै आएको छ । तर, धेरै मानिसहरूले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउन इच्छा जाहेर नगरेको पनि पाईएको छ ।

विज्ञहरूले धेरै मानिसहरूमा वायु प्रदूषणको घरभित्रै असर हुने बताउँछन् । ईपीएका अनुसार घरभित्र वायु प्रदूषण बाहिरभन्दा दुईदेखि पाँच प्रतिशतले बढी हुन्छ । आधिकारिक सरकारी तथ्याङ्कले दिल्लीमा नोभेम्बर विगत छ वर्षयता सबैभन्दा प्रदूषित महिना बनेको देखाएको थियो । नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो ।

तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको छ । अध्ययनमा धनी र गरिबका घरहरूभित्र पनि वायु प्रदूषण खासै फरक नभएको पाएको छ । धनी परिवारमा गरिब परिवार भन्दा वायु प्रदूषण कम गर्ने एअर प्युरिफाएर हुने सम्भावना १३ प्रतिशत बढी हुन्छ । तर पनि ती घरहरूमा १० प्रतिशत मात्रै वायु प्रदूषण कम भएको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वभर धूम्रपान जस्तै खराब वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण ७० लाख मानिसहरूको अकालमै मृत्यु हुने जनाएको छ । भारतमा संसारका सबैभन्दा प्रदूषित ३० मध्ये २२ सहर छन् । त्यहाँ वार्षिक वायु प्रदूषणका कारण १० लाखभन्दा बढी मानिसको अकालमै मृत्यु हुने बताइन्छ ।भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित