तिव्र रुपमा फैलिन थाल्यो ओमिक्रोन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७७ पटक पढिएको

 

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित तिव्र रुपमा बढ्न थालेका छन् । आइतवार मात्र त्यहाँ १७ जनामा ओमिक्रोन देखिएको छ । समाचार एजेन्सी एएनआइका अनुसार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका हुन् ।

यस सँगै अब भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या २१ रहेको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ।

नयाँ भेरियन्ट फैलनबाट रोक्ने उद्देश्यले भारतमा केन्द्र एवं राज्य सरकारहरूले विमानस्थलहरूदेखि लिएर अन्य यातायात केन्द्रहरूमा पनि परीक्षण तिव्र पारिरहेको बताईएको छ ।

यसको सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरियन्टलाई समेत पछि पार्न सक्ने अनुमान हुँदै आएको छ । डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टा भन्दा पनि सङ्क्रामक भएको बताएकी थिइन् ।

भारतको साथसाथै विश्वभरिका देशहरूमा ओमिक्रोन सङ्क्रमण तिव्र रुपमा फैलिरहेको छ । अमेरिकाको १५ राज्यमा ओमिक्रोन सङ्क्रमण फेला परिसकेका छन् भने ब्रिटेनले नाइजेरियालाई ‘यात्रासम्बन्धी रातो सूची’मा राखेको छ ।

भारतमा ओमिक्रोन सङ्क्रमित फेला परिरहेका कारण त्यसले नेपालमा पनि चिन्ता बढाइदिएको छ । नेपालमा भने अहिलेसम्म ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छैनन् । ओमिक्रोन भित्रिन सक्ने आशङ्काका माझ मानिसहरूलाई बुस्टर खोप दिने बारेमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस बारे छिट्टै निर्णयमा पुगिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताउँदै आएका छन् । श्रीलंकामा पनि गत साता केही संक्रमित भेटिएका छन् ।

हालसम्म नेपालमा पूर्ण मात्रा खोप लगाएकाहरू कूल जनसङ्ख्याको २८ प्रतिशत मात्र छन् । पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ । ओमिक्रोनको फैलिने दर निकै बढी भएको कारण यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने  आकलन भईरहेका छन् । तस्बिर : रोयटर्स

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित