Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

आज देखि बाघ गणना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८४ पटक पढिएको

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज देखि बाघ गणना सुरु गर्दैछ । विभागले नेतृत्व गरेको गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट हुँदैछ । सन् २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ दिइएको छ ।

देशभर चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज गरि पाँच निकुञ्जमा बाघ छन् । सबैभन्दा धेरै चितवनमा छन् । गणनाका लागि बाघ पाइने पाँच वटा निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो । 

हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयूक्त मानिन्छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई/दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने हुन्छ । विभागले गणनाको लागि जम्मा ३ हजार ८ सय ४८ वटा क्यामेरा प्रयोग गरिने जनाएको छ ।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या अहिले बढेको विभागले अनुमान गरेको छ । 

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवगमा भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो ।  

साउन १३ मा विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गरिने विभागले जनाएको छ । पहिलो गणनामा सन् १९९५/९६ मा करिब सय, सन् २००९ मा १ सय २१, सन् २०१० मा १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघ थिए ।  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित