राप्रपाको अध्यक्षमा लिङ्देन विजयी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २१६ पटक पढिएको

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आइतबार बिहान ३ बजेबाट शुरु भएको मतगणनामा उनले १८१७ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उमेदवार कमल थापाले भने १६१७ मत प्राप्त गरेका छन् । 

शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ६५ मत खसेको थियो । जसमा ४३१ मत बदर भएको छ । 

यसैबीच राप्रपाका पुर्व अध्यक्ष समेत रहेका थापाले आफ्नो हार स्वीकार गर्दै सामाजिक सन्जालमार्फत लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ‘ ।

त्यसैगरी राप्रपाको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छिन् । अन्तिम मतपरिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । अभिनेत्रीसमेत रहेकी रेखा थापा भने महामन्त्रीमा पराजित भएकी छिन् । रेखाले १६४० मत प्राप्त गरेकी छिन् । 

करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको थियो । निर्वाचनका लागि देशभरबाट करिब चार हजार सात सय प्रतिनिधि छनोट भएका थिए ।

यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको थियो । अहिले भएको मतदान १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको हो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित