देशभर चिसो बढ्यो / सतर्कता अपनाउन मौसम विभागको अनुरोध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५१ पटक पढिएको

 

देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले हल्का वर्षा र हिमपात हुने भएको हो । 

जल तथा मौसम विज्ञान विभागले यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागले एक विशेष बुलेटिन निकालेर सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर पूर्व सर्ने देखिएको जनाएको छ । उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो पानी पर्ने सम्भावना नरहे पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं एक, दुई र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी सोमबारबाट यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कदेखि मध्यम वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको बताइएको छ । यो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित