कक्षा १२ को नतिजा प्रकाशित
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८९ पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बिहान ९ बजे बोर्डको बैठक बसेर नतिजा प्रकाशित गरेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाएका छन् । अहिले नतिजा अपलोडको काम भइरहेकोले एक घण्टापछि https://neb.ntc.net.np/ मा हेर्न सकिने उनले बताएका छन् ।
त्यस्तै एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ७ हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।
यसैबीच कोरोनाभाइरस संक्रमणका कारण परीक्षा दिन छुटेका ४१ जना परीक्षार्थीहरूले गत बुधबारदेखि परीक्षा दिइरहेका बोर्डले जनाएको छ । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र नतिजा प्रकाशित गरिनेछ ।
कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीहरु सहभागी भएका थिए । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परिक्षाका लागि देशभर चार हजार तीन सय १० विद्यालयमा होम सेन्टरमा परीक्षा सञ्चालन भएको थियो ।
कक्षा १२ को परीक्षा यसअघि दुईपटक स्थगित भएको थियो । साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।