नौ देशबाट नेपाल प्रवेशमा प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७४ पटक पढिएको

 

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’ विरुद्ध प्रतिकार्य योजना लागू गर्दै दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक लगाएको छ । साथै ती मुलुकलाई ट्रान्जिट बनाएर आउने अरु देशका नागरिकलाई पनि अर्को आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको हो ।

मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले बिहीबार रातिदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिविया, लोसोथो, इसवाटिनी, मोजाम्विक, मलावी र हङकङबाट नेपाल आउन रोक लगाइएको हो ।

ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सरकारले जोखिमयुक्त मुलुकमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिसकेको छ । यस्तै नेपालबाट विदेश जाने कर्मचारीले पूर्वस्वीकृतिसमेत लिनु पर्ने जनाएको छ । सरकारबाट सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने प्रतिबद्धता अनुरुप प्रतिदिन न्यूनतम दुई लाख जनालाई खोप अनिवार्यरूपमा दिलाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिबन्ध लगाइएका मुलुकको यात्रा गरेर तीन साता अवधि पूरा नगरेका अरु देशका नागरिकलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । आदेश जारी भएका बखत नेपाल भ्रमणका लागि ट्रान्जिटमा रहेका यात्रुलाई भने नेपाल आएपछि आफ्नै खर्चमा सात दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ ।

बैठकले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश–२०७८’ जारी गरेको थियो । त्यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद बैठकले कोभिड–संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को नेतृत्वमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन दिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित