Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

सर्वोच्चमा आज देखि गोला प्रणाली

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८४ पटक पढिएको

सर्वोच्च अदालतमा आज देखि गोला प्रणालीबाट पेसी तोकिएको छ । गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान परेका छन् ।

नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली कार्यान्वयनको सूचना सोमबारनै नेपाल राजपत्रमा प्रकाशित गरेको थियो ।

सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । तर, अब गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार स्वत कटौती हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी सो अधिकार खोसेका हुन् ।

नियमावली अनुसार गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता  हट्न सुरु भएको छ । प्रधानन्यायाधीश जबराको न्यायिक निष्ठामा प्रश्न उठेको भन्दै न्यायाधीशहरूले ८ कात्तिकदेखि इजलास बहिष्कार गर्दैआएका थिए ।  अब ‘अटोमेसन’मा नजाँदासम्म गोला प्रणालीबाट पेसी व्यवस्थापन हुने अधिकारीहरुले बताएका छन् । प्रधानन्यायाधीश विवाद प्रकरणमा इजलासबाट बाहिर रहेका न्यायाधीशको अगुवाइमा नियमावली संशोधन भएपछि गोला प्रणाली लागू हुन लागेको हो । गोला प्रणालीसँगै न्यायाधीशहरू पनि काममा फर्किएका ।

गोला प्रणालीमा जानेबारे मङ्सिर ८ गते सर्वोच्चमा न्यायाधीशहरूले निर्णय गरेका थिए । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेस गरेको ‘न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायसम्बन्धी प्रतिवेदन’का सुझावअनुसार गोला प्रणालीमा जान लागिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित