बार्बाडोसले एलिजाबेथ द्वितीयलाई राष्ट्रप्रमुखको पदबाट हटायो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८६ पटक पढिएको

 

क्यारेबियन टापु बार्बाडोसले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाएको छ ।  मंगलबार राजधानी ब्रिजटाउनमा गरिएको समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको शपथ दिलाइएको छ ।

बार्बाडोसकरिब ४०० वर्ष पछि गणतन्त्र बनेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । समाचार अनुसार क्यारिबियन टापुमा पहिलो अङ्ग्रेजी जहाज आइपुगेको झण्डै ४०० वर्षपछि औपनिवेशिक बन्धन तोडेको हो । सन् १६२५ मा एक अंग्रेजी जहाज सँग प्रवेश गरेका राजा जेम्स प्रथम ले दावी गरेदेखि यो सानो टापुलाई इङ्गल्याण्डसँग बाँधिएको थियो । 

देश स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसरमा गरिएको उक्त समारोह पछि अब भने बार्बाडोस विश्वको कान्छो गणतन्त्र बनेको छ । आधिकारिक रूपमा शक्ति हस्तान्तरणको प्रतीक मानिएको समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिँदै शाही झन्डा विस्थापित गरिएको थियो । बार्बाडोसले एलिजाबेथ द्वितीयलाई आफ्नो देशबाट बिस्थापित गरे, उनि अझै पनि बेलायत, अष्ट्रेलिया, क्यानडा र जमैका सहित १५ राज्यको राज्यप्रमुख छिन् ।  

समारोहलाई सम्बोधन गर्दै युवराज चार्ल्सले उक्त क्यारेबियन टापुले विगतमा दासदासीको त्रासदीपूर्ण ज्यादती भोगेको समेत स्वीकारेका थिए । संवैधानिक परिवर्तनका बाबजुद दुई देशबीच निरन्तर सम्बन्ध रहने मुख्य अतिथि समेत रहेका युवराज चार्ल्सको भनाई छ । बार्बाडोसकी नयाँ राष्ट्रपतिले उनलाई प्रतिष्ठित अर्डर अफ फ्रिडम अफ बार्बाडोस सम्मान प्रदान गरेकी थिइन् । 

एक सन्देश मार्फत ९५ वर्षीया रानीले नयाँ राष्ट्रपति र बार्बाडियनहरूलाई बधाई दिएको थियो । झन्डै २ सय वर्ष उक्त टापु एटलान्टिक महासागर वारपार हुने दासदासी व्यापारको केन्द्र बनेको थियो । बार्बाडोसको नयाँ युगसँगै ब्रिटेनको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ ।

यसलाई रानी एलिजाबेथको झण्डै ७० वर्ष शासनकालको अन्त्य र चार्ल्सको भावी राज्यारोहणको लागि ब्रिटिस राजतन्त्रसँगको सम्बन्ध तोड्ने फराकिलो प्रयासको अग्रगामी मान्न थलिएको छ । बेलायतले दासत्वलाई विगतको पापको रूपमा व्याख्या गरिरहँदा केही बार्बाडियनहरूले क्षतिपूर्तिको माग गरिरहेका छन् । कार्यकर्ता डेभिड डेनीले गणतन्त्रको स्थापनाको उत्सव मनाए पनि युवराज चार्ल्सको भ्रमणको विरोध गरेका छन् । शताब्दीयौंदेखि शाही परिवार दास व्यापारबाट लाभान्वित भएको उनले बताएका छन् । 

१५ औं र १९ औं शताब्दीको बीचमा युरोपेली राष्ट्रहरूले एट्लान्टिक दास व्यापारमा करिब १ करोडभन्दा बढी अफ्रिकीहरूलाई बाँधेर राखेका थिए । समाचार अनुसार जो क्रूर यातनाबाट बाँचेका थिए उनीहरुलाई पनि धेरै भन्दा धेरै काम लगाईन्थ्यो ।

सन् २०१८ देखि उक्त टापुको गभर्नर जनरल पदमा ७२ वर्षीया डेम स्यान्ड्रा मेसनलाई गत महिना त्यहाँको संसद्ले राष्ट्रपतिमा निर्वाचित गरेको थियो । ब्रिटेनकी महारानीको ठाउँमा अब उनी बार्बाडोसकी राष्ट्रप्रमुख हुन् । औपचारिक समारोहका बेला प्रधानमन्त्री मिया मोट्लेका साथै देशका नेताहरूले नयाँ राष्ट्रपति सामु देशप्रति बफादारीको शपथ लिएका थिए । बार्बाडोसले गणतन्त्र बन्ने योजना गत वर्ष नै घोषणा गरेको थियो । तस्बिर : रोयटर्स 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित