अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९० पटक पढिएको

 

दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

गृहको प्रवक्ता फणीन्द्रमणि पोखरेलाका अनुसार आइतबार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, आधिकारिक र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो । यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलको भनाई छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण-पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

विज्ञप्तीमा दक्षिण-पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।

डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।

‘आजको दिनसम्ममा यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका छन् । त्यसैले ठूलो संख्या अहिले पनि संक्रमणको जोखिममा नै छन्,’ उनले विज्ञप्तिमा भनेकी छन् ।

ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेपछि विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् । यूरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाईयात्रा माथि प्रतिबन्ध लगाएको छ भने इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित