विभिन्न राष्ट्रहरूले यात्रामा प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकाको आपत्ति

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०२ पटक पढिएको

 

विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्ट पत्ता लगाएका कारण आफूलाई प्रशंसा गर्नुको साटो दण्डित गरिएको गुनासो गरेको छ । यात्रामा लगाइएको प्रतिबन्धलाई मन्त्रालयले कडा आलोचना गर्दै उत्कृष्ट विज्ञानलाई प्रशंसा गरिनु पर्ने ठाउँमा दण्डित गरिएको जनाएको हो ।  

विश्वका अन्य मुलुकहरूमा नयाँ भेरियन्ट फेला पर्दा व्यक्त भएका प्रतिक्रियाहरु यस भन्दा फरक रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रवार विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) ले नयाँ भेरियन्टलाई "भेरियन्ट अफ कन्सर्न" का रूपमा वर्गीकरण गरेको थियो । प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ । यो भेरियन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ । पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ ।

कोभिड-१९ को यो नयाँ भेरियन्ट बेलायत, जर्मनी, बेल्जियम, बोत्स्वाना, हङ्‌कङ र इटलीलगायतका अन्य देशहरुमा पनि फेला परेको छ । नोभेम्बर २४ तारिखमा पहिलो पटक दक्षिण अफ्रिकाले यो भेरियन्टबारे डब्ल्युएचओ लाई जानकारी गराएको थियो ।

नयाँ भेरियन्ट देखिए पछि कुन राष्ट्रले के के नियम बनाए :

युरोपियन सङ्घ – अन्तर्गत रहेका राष्ट्र र स्विट्जरल्यान्डले सोमवारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकबाट हुने उडानमा रोक लगाउने निर्णय गरिसकेका छन् । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लसूटू र एस्वाटिनीबाट आउने यूके वा आयरल्यान्डका नागरिक वा बेलायतका बासिन्दाबाहेक अरू यात्रुलाई प्रवेशमा रोक लगाइएको छ ।

अमेरिका –  सोमवारबाट लागु हुनेगरी दक्षिण अफ्रिकासहित आठ देशबाट आउने आफ्ना नागरिकबाहेक अरू यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

अस्ट्रेलिया – अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ ।

जापान – अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारन्टीनमा राख्ने निर्णय गरेको छ। सो अवधिमा समयमा उनीहरूले चारवटा परीक्षण गराउनुपर्नेछ ।

भारत – दक्षिण अफ्रिका, बोत्स्वाना र हङ्‌कङ सहितका देशबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन र परीक्षण गर्न निर्देशन दिएको छ ।

इरान – छवटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ ।

ब्रजिल -छवटा दक्षिण अफ्रिकी देशबाट आफ्नो देशमा हुने यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ ।

क्यानडा – दक्षिण अफ्रिकी देशहरूमा विगत १४ दिनको अवधिमा यात्रा गरेका विदेशीहरूलाई प्रवेशमा रोक लगाएको छ ।

थाईल्यान्ड – आठवटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ ।

नेपाल – दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरेको छ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सीधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने यात्रुलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिएका छन् ।

बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित