ब्रिटेनद्वारा ६ ओटा अफ्रिकी मुलुकको अन्तराष्ट्रिय उडानमा रोक
- वर्ल्ड दैनिक
- १ साल अघि
- २७१ पटक पढिएको

दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरस भेरियन्ट देखिए पछी ब्रिटेनले ६ ओटा अफ्रिकी मुलुकको अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ । बिहिबार स्वास्थ्य सुरक्षा एजेन्सीले नयाँ कोभिड भेरिएन्ट देखिएको बताए सँगै ब्रिटेनका अधिकारिहरुले अफ्रिकी देशहरुलाइ ‘’रातो सुचीमा’’ थप्ने घोषणा गरेका हुन् ।
ब्रिटेनका स्वास्थ्य मन्त्री साजिद जाविदले दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्स्वाना, एस्वाटिनी र जिम्बाब्वेबाट हुने उडानहरु शुक्रबार मध्यान्हबाट प्रतिबन्ध लगाएको बताएका हुन् । उनले अफ्रीकामा देखिएको नयाँ भेरियन्ट धेरै खतरनाक भएकोले हाल भएका खोपहरू कम प्रभावकारी हुन सक्ने समेत बताएका छन् । बेलायतमा भने हालसम्म उक्त नयाँ भेरियन्ट फेला नपरेको उनको भनाई छ ।
त्यसैगरी बिहिबार सम्ममा ब्रिटेन आइपुगेका ब्रिटिश र आइरिश नागरिकहरूले भने आफ्नै खर्चमा १० दिनसम्म करेन्टाइन बस्नु पर्ने त्यहाँका स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको र द्रुत गतिमा फैलिएको त्यहाँको स्वास्थ्यमन्त्रीले बिहिबार बताएका थिए । सुरुमा यो केहि क्लस्टर प्रकोप जस्तो देखिएको तर, जेनोमिक सर्भेलेन्स नेटवर्कको वैज्ञानिकहरूबाट नयाँ भेरियन्टको पुष्टि भएको स्वास्थ्य मन्त्री जो फाहलाले बताएका थिए । यो भेरियन्ट अहिलेसम्म दक्षिण अफ्रिका, बोत्सवाना र दक्षिण अफ्रिकाबाट हङकङमा जाने यात्रुमा भेटिएको बताईएको छ ।
दक्षिण अफ्रिकाको धेरैजसो क्षेत्रमा महामारी सुरु भएदेखिनै नराम्रो असर परिरहेको छ। त्यहाँ अहिले कोभिड पोजेटिभिटीको स्तर ५ प्रतिशत भन्दा कम भए पनि खोपको प्रयोगको ढिला भएका कारण चौथो लहर आउन सक्ने चिकित्सकहरुले बताउदै आएका छन् ।
तस्बिर : रोयटर्स