मुस्लिमद्वारा शासित अमेरिकाको पहिलो सहर ‘हामट्रामिक’
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६८ पटक पढिएको

अमेरिकाको एक सहर, मुस्लिम-अमेरिकीद्वारा शासित पहिलो सहर बनेको छ । जर्मनीबाट आएर बसोबास गरेकाहरूबाट सुरु भएको उक्त सहर आजको दिनमा मुस्लिम बहुसङ्ख्यक भएको अमेरिकी सहर बनेको हो । २८ हजार जनसङ्ख्या भएको उक्त मध्यपश्चिम सहरको नगर परिषद्मा यसै महिना मुस्लिम नगरप्रमुख र मुस्लिम सदस्यहरू चयन भएको बीबीसीले जनाएको छ ।
कुनै बेला विभेदको सामना गरेका मुस्लिम बासिन्दाहरू अहिले उक्त बहुसांस्कृतिक सहरको अभिन्न अङ्ग बनेका छन् । उनीहरूको जनसङ्ख्या आधाभन्दा बढी छ । "दुई वर्ग माइलमा विश्व" भन्ने नारामा हामट्रामिक नामको रूपमा खडा भएको त्यस सहरमा पाँच वर्ग किलोमिटर क्षेत्रभित्र ३० भाषाहरू बोलिन्छन् ।
उक्त सहर बढ्दो विविधतामा अमेरिकी भविष्यबारे एउटा गतिलो अध्ययन विषय बन्न सक्ने बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार त्यहाँ पसलहरूका अघिल्तिर अरबिक र बाङ्गा भाषामा सङ्केतहरू, बुट्टादार बङ्गलादेशी र जाम्बियन कपडाहरू, पसलहरूका झ्यालमा यमनको एकखाले घुमाउरो ब्लेड देख्न सकिन्छ ।
हामट्रामिक
हामट्रामिक कुनै बेला मोटर उद्योगको केन्द्र थियो र त्यहाँ जेनेरल मोटर्सका उद्योगहरूको वर्चश्व थियो । बीसौँ शताब्दीका बेला उक्त सहर "लिटिल वार्शो"का नाममा चिनिन थाल्यो किनकि त्यहाँ पोलिस (पोल्याण्डका बासिन्दाहरु) आप्रवासीहरू मजदुरी गर्न जान थाले ।
पोल्यान्डमा जन्मिएका पोप जोन पोल द्वितीयले अमेरिका भ्रमण गर्दा सन् १९८७ मा उक्त सहरमा बास बसेका थिए । सन् १९७० मा उक्त सहरका लगभग ९० प्रतिशत जनसङ्ख्या पोलिस थिए । सो दशकमा अमेरिकामा कार उत्पादनमा निकै गिरावट आयो र युवा तथा धनी पोलिस अमेरिकीहरू अन्य नगरहरूमा सर्न थाले । त्यस परिवर्तनले हामट्रामिकलाई मिशिगनको एउटा सबैभन्दा गरिब सहर बनायो तर त्यहाँ जीवनयापन सहज हुने भएकाले धेरै आप्रवासीहरू आकर्षित भए ।
विगत ३० वर्षमा हामट्रामिक फेरि परिवर्तन भयो र अरब तथा एशियाली आप्रवासीहरू जाने ठाउँ बन्यो । त्यसमध्ये धेरै बङ्गलादेश र यमनका थिए । उक्त सहरमा अहिले पनि उल्लेख्य सङ्ख्यामा विदेशमा जन्मिएका मानिसहरू छन् । त्यस्ता मानिसको हिस्सा ४२ प्रतिशत छ । त्यहाँका आधाभन्दा बढी धार्मिक रूपमा मुस्लिमहरू छन् ।
मुस्लिम दोस्रो ठूलो धार्मिक समूह
पिउ रिसर्च सेन्टरले सन् २०२० मा अमेरिकामा ३८ लाख ५० हजार मुस्लिमहरू बसोबास गरिरहेको अनुमान गरेको छ । त्यो भनेको कुल जनसङ्ख्याको १.१ प्रतिशत हो । रिसर्च सेन्टरले सन् २०४० सम्ममा क्रिश्चियनपछि अमेरिकामा मुस्लिम दोस्रो ठूलो धार्मिक समूह बन्ने प्रक्षेपण गरिएको छ ।
उनीहरूको जनसङ्ख्या बढिरहेको भए पनि अमेरिकामा मुस्लिमहरूलाई पूर्वाग्रहका साथ हेरिन्छ । सेप्टेम्बर ११ हमला भएको २० वर्षपछि पनि मुस्लिमविरोधी मानसिकताले मुस्लिम र अरब अमेरिकीहरूलाई अझै पनि सताउँछ । सन् २०१६ मा वयस्क मुस्लिममध्ये करिब आधाले आफूहरूले व्यक्तिगत रूपमा विभेदको सामना गरेको बताएका थिए ।
त्यसबेला राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पले मुस्लिम बहुल देशहरूबाट आप्रवासीहरूलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए । त्यसबेला आम अमेरिकीहरूले सबैभन्दा धेरै नकारात्मक धारणा मुस्लिमहरूप्रति राखेको रिपोर्टहरु पनि सार्बजनिक भएको थियो । सन् २०१७ मा ट्रम्प प्रशासनले आप्रवासीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा उक्त सहरवासीहरू सबै प्रदर्शनमा सँगसँगै आएका थिए ।
राष्ट्रिय रूपमा पनि अमेरिकामा मुस्लिमहरू राजनीतिमा देखिन थालेका छन् । सन् २००७ मा मिनिसोटाका डेमोक्र्याट किथ एलिसन पहिलो मुस्लिम सांसद बनेका थिए । हाल अमेरिकी संसद्मा चारजना मुस्लिम सदस्यहरू रहेका छन् । देशका अन्य भागमा जस्तै उक्त सहरमा पनि कडा सांस्कृतिक बहसहरू हुने गर्छन् । बीबीसीबाट