सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८९ पटक पढिएको

 

आज (बुधवार) बाट दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचना अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको हो ।

त्यस्तै अन्य प्रदेशमा भने आवेदन दिएको केही दिनमै इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिने अवस्था रहेको यातायात व्यबस्था विभागले जनाएको छ । विभागका अनुसार विशेष खालको विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुन्छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार फागुन १ गतेबाट नामसारी गर्दा र जेठ १ गतेबाट दर्ता नवीकरण गर्दा सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ । 

उपलब्ध गराउने नम्बर प्लेट "मशीन इम्बोस्ड" हुने हुँदा अङ्क र अक्षर मशीनबाट छापिएको हुन्छ । जसका कारण  एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न नमिल्ने विभागले जनाएको छ । यसको सबैभन्दा ठूलो फाइदा भनेको गाडी चोरी हुने सम्भावना घट्नुका साथै गलत नम्बर प्लेट प्रयोग गर्न नमिल्नु हो । 

दुईपाङ्ग्रे सवारीमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी स्टिकर टाँसिएको हुन्छ। चारपाङ्ग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा टाँसिएको हुन्छ । इम्बोस्ड नम्बर प्लेट झन्डै २०० मिटरको दूरीमा समेत प्रकाशमा टल्किएर देख्न सकिने बताइएको छ।

विभागका अनुसार हाल ५० हजारभन्दा बढी इम्बोस्ड नम्बर प्लेटको मौज्दात तयार भएको छ । उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणहरूले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ। आवेदकले पेस गरेका दस्ताबेज प्रमाणीकरणको काम सम्पन्न हुनासाथ सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुने बीबीसी नेपालीले जनाएको  छ । त्यसपछि आवेदकले एउटा बार कोड प्राप्त गर्छन् । त्यो लिएर यातायात कार्यालयहरूमा गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिन्छ ।

विभागले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २६ सय रुपैयाँ र ट्रकजस्ता ठूला सवारीसाधनमा ३६ सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

 

 

तस्बिर : खबरहब 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित