फिजैफिजले ढाकेको यमुना नदीमा छठ मनाउनेको घुइँचो
- वर्ल्ड दैनिक
- १ साल अघि
- १९९ पटक पढिएको

भारतको पवित्र नदी मानिने यमुनामा केही दिनदेखि बिषाक्त्त फिज फैलिरहेको छ । सोहि फिजका बीच छठको स्नान गर्ने श्रद्धालुहरूको भीड पनि बढिरहेका छन् । तिहारको अर्को दिन तुवाँलोले घेरिएका नयाँदिल्लीका बासिन्दाले अहिले फिजैफिजले भरिएको यमुनामा छठका लागि डुबुल्की मारिरहेका छन् ।
फिजले ढाकेको यमुनामा सूर्यलाई अर्घ दिइरहेका श्रद्धालुको दृश्य टाढाबाट हेर्दा बादलमा तैरिएर पूजा गरिरहे जस्तो देखिन्छ । तर वास्तवमा उनीहरूले पवित्र मानेको यमुनाको पानी प्रदुषणको फिजले ढाकिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
औद्योगिक र अन्य क्षेत्रबाट निस्केको प्रदूषण यमुना नदीमा मिसिदा सो फिज बनेको बताइएको छ । सो फिजमा अमोनिया र फोस्फेटजस्ता विषालु पदार्थको मात्रा बढी भएको हुँदा स्वास्थका लागि निकै हानिकारक मानिएको छ ।
छठ पूजाको अवसरमा सो फिजमै स्नान गरिरहेका भक्तजनहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्तन सक्ने भन्दै बुधबारदेखि फिज हटाउन सुरु गरेको समेत बताइएको छ ।
संचार माध्यमहरुका अनुसार यमुनामा फैलिएको बिषाक्त्त फिज हटाउन दिल्ली सरकारले १५ वटा डुङ्गा खटाएको छ । त्यस्तै त्यहाँको सिचाइ तथा बाढी नियन्त्रण विभाग, राजस्व विभाग, प्रदूषण नियन्त्रण विभागले संयुक्तरुपमा नदी सफा गरिरहेको बताइएको छ ।
रातभर आतिशबाजी गरेका नयाँ दिल्लीका बासिन्दाहरूले तिहारको भोलिपल्ट बिषाक्त्त धुवाँमा सास फेरेका थिए । त्यस दिन दिल्लीमा विश्वका सबै राजधानीहरू भन्दा खराब हावाको गुणस्तर थियो । त्यहाँका संघीय प्रदूषण नियन्त्रण बोर्डको निर्देशन अनुसार त्यस दिन वायु गुणस्तर सूचकांक (एक्युआई) ५०० को स्केलमा ४५१ पुगेको थियो ।