फाइजरको कोभिडविरुद्ध खाने औषधि : ८९ प्रतिशत प्रभावकारी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३३० पटक पढिएको

कोभिड बिरामीले घरमै सेवन गर्न सक्ने चक्कीको विकास गर्न औषधि उत्पादक कम्पनीहरुहरू लागिपरेका छन् । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि विकास गरेको खाने चक्की ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ । यस अघि खाने औषधिले बेलायतमा स्वीकृति पाए सँगै फाइजरले पनि आफ्नो औषधि बारे जानकारी दिएको हो ।
फाइजरले उक्त चक्कीको आपत्कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ । अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ । कम्पनीका अनुसार पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ ।
फाइजरको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्नुपिरभिर चक्कीलाई प्रयोग अनुमति दिन निवेदन दिएको छ । मोल्नुपिरभिर चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको बीबीसीले उल्लेख गरेको छ । ब्रिटिश नियामक निकायले बिहीवार मात्रै त्यसको प्रयोगका लागि अनुमति दिएको थियो ।
कोभिड देखिनासाथ जतिसक्दो चाँडो जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक मोल्नुपिरभिर चक्की दिनुपर्ने हुन्छ । मोल्नुपिरभिर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो औषधि हो ।
कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि निकामक एमएचआरएले जनाएको थियो । बेलायतले यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्नुपिरभिर औषधि पाउने गरी खरिद सम्झौता पनि गरिसकेको छ।