Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

मेक्सिको पुगेका ५ अफगान नागरिकलाई नेपालनै फर्काइदिए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४४ पटक पढिएको

 

मेक्सिको पुगेका एकै परिवारका ५ अफगान नागरिकलाई त्यहाँको अध्यागमन प्रशासनले नेपालनै फर्काइदिएको छ । उनीहरु मेक्सिकोबाट कोलम्बो हुँदै मंगलबार बिहान १०:४५ मा श्रीलंकन एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

नेपालको अध्यागमन विभागले आइतबार साँझ ५ बजेतिर विमानस्थलबाट श्रीलंकन एयरलाइन्स मार्फत कोलम्बो हुँदै उनीहरुलाई मेक्सिको पठाएको थियो । तर, मेक्सिकोस्थित अध्यागमनले पाँचै जनालाई आफ्नो देश प्रवेश गर्न नदिई विमानस्थलबाटै फिर्ता (इन्ट्रि रिफ्यूज) गरेको थियो ।  

गृह मन्त्रालयले कानुनी प्रावधान अनुसार उपयुक्त निर्णय लिएको बताउदै उनीहरुलाई निष्कासन गर्न निर्देशन दिएको थियो । गैरकानुनी रुपमा भित्रिने तेस्रो देशका नागरिकलाई जुन बाटो हुँदै नेपाल आएका थिए त्यही बाटो भएर निष्कासन गर्ने अध्यागमन नियम छ । तर विभागले उनीहरुलाई उनीहरुकै रोजाइमा आइतबार मेक्सिको पठाएको थियो ।  

विमानस्थल अध्यागमन स्रोतका अनुसार ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीय नाजिफा स्तानिकजाई, २ छोरी १७ वर्षीया मिसबाह जैनाव स्तानिकजाई र १२ वर्षीया नुरुल हाया स्तानिकजाई तथा ८ वर्षीया छोरा मोहम्मद रायन स्तानिकजाई मेक्सिकोबाट इन्ट्रि रिफ्यूज भई काठमाण्डू आइपुगेका हुन् । 

अफगानिस्तान फर्किन नपरे हुन्थ्यो भन्ने उनीहरूले बयान दिएको बताइएको छ । विभागले उनीहरूको सम्बन्धमा के निर्णय गर्ने तय गर्न सकेको छैन । यसबारे थप के गर्ने भन्नेमा विभागले गृह मन्त्रालयसँग परामर्श गरिरहेको बताइएको छ । विभागका अनुसार उनीहरुलाई नेपालमै राख्न सकिने वा नसकिने भन्नेबारे सरकारले नै निर्णय लिनुपर्ने हुन्छ । 

गत कात्तिक ८ मा सिनामंगलको एक होटलबाट ११ जना अफगानी नागरिकलाई गैरकानुनी रुपमा नेपाल भित्रिएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । त्यस पछि उनीहरुलाई सीआईबीले अध्यागमन विभागको जिम्मा लगाएको थियो । उनीहरू दुईवटा कोठा लिएर बसेका थिए । पाँच जनाको एउटा परिवार एउटा कोठामा र बाँकी छ जना अर्को कोठामा बसिरहेका थिए । तीमध्ये छ जनाको समूह असोज १२ गते र एकै परिवारका पाँच जना कात्तिक ४ गते आइपुगेका थिए । 

अफगान नागरिकको गैरकानुनी आगमन देखिएपछि गृह मन्त्रालयले आधिकारिक परिचयपत्र नभएका मानिसलाई कोठा भाडामा नदिन निर्देशन दिइसकेको छ । सीमामा यात्रुले देखाउने परिचयपत्रमाथि पनि सूक्ष्म अध्ययन गर्न भन्दै मन्त्रालयले विज्ञप्तिनै जारी गरेको थियो । 

विश्वभरि  संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला सम्बन्धी उच्च आयोग (यूएनएचसीआर)ले दर्ता गरेका शरणार्थीमध्ये २७ लाख अफगान छन् । जुन एउटै राष्ट्रियता भएका शरणार्थीमध्ये विश्वकै तेस्रो ठूलो सङ्ख्या हो । यूएनएचसीआर इन्डोनेशियासँग सन् २०२० डिसेम्बरसम्म झन्डै ८,००० अफगान शरणार्थी र शरण खोजिरहेका व्यक्तिहरू दर्ता भएका छन्। सन् २००१ मा अफगानिस्तानमा भएको अमेरिकी अतिक्रमणसँगै देखा परेको असुरक्षा, राजनीतिक र आर्थिक अस्थिरताले यस्तो अवस्था निम्त्याएको बिबिसीले उल्लेख गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित