जापानी प्रधानमन्त्री किसिदाको पार्टी (एलडिपी) ले बहुमत ल्याउने पक्का
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४६६ पटक पढिएको

एक महिनाअघि मात्र सत्तामा आएका जापानी प्रधानमन्त्री फुमियो किसिदाको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले संसदीय निर्वाचनमा बहुमत ल्याउने पक्का भएको छ। अहिलेसम्म प्राप्त परिणामअनुसार एलडिपीले जापानको तल्लो सदनमा २३३ भन्दा बढी सिटमा आफ्नो जित सुनिश्चित गरिसकेको छ ।
जापानको तल्लो सदन ४६५ सिटको छ। अहिलेसम्म जति सिटमा एलडिपीको जित सुनिश्चित भएको छ, त्यति मात्रले पनि प्रधानमन्त्री किसिदा गठबन्धन दलको सहयोगबिना नयाँ सरकार बनाउन सक्ने बीबीसीले जनाएको छ ।
यही महिना लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा विजयी भएपछि ६४ वर्षीय किसिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस लगत्तै उनले अर्काे आमनिर्वाचनको तयारी थाले । आइतबार भएको निर्वाचन किसिदाका लागि फलदायी साबित भएको बिबिसीले उलेख गरेको छ।
यसअघि चुनावी सर्वेक्षणहरूले पनि अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने नतिजा देखाएकाे थियो । तर सर्वेक्षणको नतिजाविपरीत किसिदाको पार्टीलाई अब गठबन्धन सरकार बनाउने आवश्यक छैन ।
उनले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारी अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका थिए । जसमा उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आमनागरिकको सहयोग आवश्यक रहेको बताएका थिए ।
किसिदा हिरोसिमाका बासिन्दा हुन् । उनि राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका हुन् । उनका बुवा र हजुरबुवा पनि सांसद थिए । जापानमा धेरै समय विदेशमन्त्री हुने व्यक्ति पनि किसिदानै हुन् । उनी सन् २०१२ देखि २०१७ सम्म विदेशमन्त्री भएका थिए । बिबिसीका अनुसार उनले नै सन् २०१६ मा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको हिरोसिमा भ्रमण तय गरेका थिए ।
जापानमा ४६५ मध्ये २८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् ।