यमनको एडेन विमानस्थल नजिक विस्फोट हुँदा १२ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- १०८ पटक पढिएको

यमनको दक्षिणी बन्दरगाह सहर एडेनको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । सो घटना आक्रमण हो वा होइन भन्ने अझै स्पष्ट भएको छैन ।
विस्फोट एकदमै शक्तिशाली भएको अल्जजिराले जनाएको छ । अल्जजिराको अनुसार उक्त बिस्फोट शहरभर सुनिएको र वरपरका बासिन्दाका झ्यालका सिसा समेत फुटेका छन् । एयरपोर्टका एक अधिकारीले शनिबार एयरपोर्टको बाहिरी गेटमा सानो ट्रक विस्फोटन भएको बताएका छन् भने सुरक्षा स्रोतहरूले गाडीले पेट्रोलियम पदार्थ बोकेको बताएका छन् ।
यस महिनाको सुरुमा पनि एडेनमा गभर्नर सहित एक एसटीसी सदस्य चढेको कारलाई लक्षित गर्दै बिस्फोट भएको थियो । जसमा कम्तिमा छ जनाको ज्यान गएको र अन्य घाइते भएको थियो ।
एडेन यमन सरकारको अन्तर्राष्ट्रिय मान्यता प्राप्त अस्थायी घर हो । सरकार र दक्षिणी पृथकतावादी समूहहरूबीच त्यहाँ वर्षौंदेखि तनाव भैरहेको छ । दक्षिणमा अस्थिरताले यमनमा जटिल युद्धको अन्त्य गर्न संयुक्त राष्ट्रले प्रयासहरू गरिरहेका छन् । राष्ट्रसंघले यमनको अवस्थालाई विश्वकै सबैभन्दा खराब मानवीय प्रकोपको रूपमा समेत वर्णन गरेको अल्जजिराले उल्लेख गरेको छ।
तस्बिर: एएफपी