बिजुलीको नयाँ महशुल दर : घरायसी ग्राहकको हकमा औसत २.८४% प्रतिशत घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४४१ पटक पढिएको

 

विद्युत नियमन आयोगले बिजुलीको नयाँ महशुल दर सार्वजनिक गरेको छ । आयोगले महशुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको हो । नेपाल विद्युत प्राधिकरणको सिफारिसमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर उक्त महशुल सार्वजनिक गरेको जनाइएको छ । 

उक्त महसुल दर मंसिरबाट लागू हुने छ । घरायसी ग्राहकको विद्युत उपभोग बढाउन महशुल दर घटाएको आयोगले जनाएको छ । आयोगले घरायसी ग्राहकको हकमा औसतमा २.८४% प्रतिशतले महशुल घट्ने गरी दर निर्धारण गरेको छ । जसमा सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ , १५ र ३० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको साविकको महशुलदरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००,१२५ र १५० रुपैयाँ कायम गरिएको छ । 

त्यस्तै विपन्न नागरिकलाई लक्षित गरि ५ एम्पियरबाट मासिक  २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ कायम भएको छ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने छन् । 

यसैगरी, सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५, १५, ३० र ६० एम्पिएरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा २५ ले कटौती गरी क्रमशः १५०,१७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ । विद्युत खपत गर्ने सो ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाई प्रति युनिट ११ रुपैयाँ कायम गरिएको छ ।

आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ । अहिलेसम्म सिङ्गल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी नौ वटा स्ल्याब राखेर महसुल लिँदै आएको छ । अब भने यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ ।

त्यस्तै व्यवसाय सञ्चालनका लागि ४०० भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक–फरक महसुल तिर्नुपर्ने छ । यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित