ग्रीसको टापुमा भेटियो ६० लाख वर्ष पुरानो मानव पैतालाका डोब
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८० पटक पढिएको

ग्रीसको एउटा टापुमा संयोगवश फेला परेका पदचिह्नहरू अहिलेसम्म भेटिएका मानव पैतालाका डोबमध्ये सबैभन्दा पुरानो भएको दाबी गरिएको छ । ट्रेकिलोस पदचिह्न भनेर चिनिने ती डोबहरू सन् २००२ मा एक पोलिश जीवाश्मवैज्ञानिकले फेला पारेका थिए । स्वीडनका अध्येता पर अल्वर्गले नेतृत्व गरेको अनुसन्धाताहरूको समूहले ट्रेकिलोस पदचिह्न ६० लाख वर्ष पुरानो भएको दाबी गरेको हो ।
पर अल्वर्गको समूहले सन् २०१७ मा ट्रेकिलोस पदचिह्नबारे पहिलो शोध प्रकाशित गरेको थियो। तर यसै महिना भएको भूवैज्ञानिक विश्लेषणहरूले यसको मिति अझै पुरानो भएको स्थापित गरिदिएको हो । यसअघि ५७ लाख वर्ष पुरानो भनिएका यी डोबहरू अब ६० लाख पाँच हजार वर्ष पुरानो भएका दाबी गरिएको छ।
उक्त अध्ययनले ती चिह्न नै आधुनिक मानवजातिका पुर्खाका प्राचीनतम प्रमाण भएको दाबी गरे संगै क्रीटद्वीपमा भेटिएका ती चिह्नहरूले मानव उत्पत्तिबारे रोचक प्रश्न तथा नयाँ विवाद उत्पन्न गराइदिएको बिबिसीले जनाएको छ ।
एउटा अन्तर्राष्ट्रिय समूहले अक्टोबर १० मा साइन्टिफिक रिपोर्टर जर्नलमा प्रकाशित गरेको शोधले अहिलेका मानवजातिका पुर्खा सबैभन्दा पहिले अफ्रिकामा देखिएको भन्ने धेरैले स्वीकार गरेको सिद्धान्तलाई पनि चुनौती दिएको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार अधिकांश जीवाश्मविज्ञहरू मानवजातिको उद्गमस्थल अफ्रिकानै भएको सिद्धान्तमा विश्वास गर्छन् । यो सिद्धान्तअनुसार २० लाख वर्षअघि विश्वका अरू ठाउँतिर बसाइँ सर्नुअघि अफ्रिकामा मानवजातिको उत्पत्ति भएको थियो ।
उठेर हिँड्ने मानवजातिका जस्ता पदचिह्नहरू सन् १९७६ मा तान्जानियामा फेला परेका थिए । तिनलाई नै यसअघिसम्म मानवजातिको सबैभन्दा पुरानो पदचिह्न मानिएको थियो ।
तर अहिलेको अध्ययनले ग्रीसमा भेटिएका पदचिह्नहरू अझ पुराना भएको सङ्केत गरेको बिबिसीले उल्लेख गरेको हो । अफ्रिकामा भएका अन्वेषणहरूलाई मानवजातिको पारिवारिक वंशवृक्ष निर्क्योल गर्न महत्त्वपूर्ण मानिन्छ।
तस्बिर : बिबिसी