सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने साउदी अरेबियाको लक्ष्य
- वर्ल्ड दैनिक
- १ साल अघि
- २९० पटक पढिएको
साउदी अरेबियाले २०६० सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य राखेको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले उक्त लक्ष्य हासिल गर्ने त्यहाँका राजकुमार मोहम्मद बिन सलमानले शनिबार घोषणा गरेका हुन् ।

‘साउदी ग्रीन इनिसिएटिभ’ फोरममा रेकर्ड गरिएको कार्यक्रममा सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म उत्सर्जन शून्य गर्ने उनको भनाई छ । त्यस्तै सन् २०३० सम्म मिथेन उत्सर्जन पनि ३० प्रतिशतले घटाउने उनले प्रतिबद्धता जनाएका छन् ।
गत मार्चमा साउदीले तेल प्रयोग हुने करिब ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । सन् २०१८ मा साउदीले ०.६२ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो । साउदी ग्रिन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन २७८ मिलियन टन घटाउने लक्ष्य समेत लिएको छ ।
जलवायु परिवर्तनको मुद्दामा वार्ता र समाधान गर्नको लागि ब्रिटेनले नभम्बर महिनामा विश्वका नेताहरु बिच शिखर सम्मेलन सीओपी २६( COP26 ) आयोजना गर्दैछ । जसमा सबै राष्ट्रहरुले २०३० सम्ममा आफ्नो कार्बन उत्सर्जनलाई सिमित राख्ने योजना बनाइने बताइएको छ । त्यस्तै कतिपय राष्ट्रहरुले २०५० सम्ममा आफ्नो कार्बन उत्सर्जन शुन्य बनाउने लक्ष रहेको समेत बताइएको छ।
तस्बिर : रोयटर्स