दुर्गापक्षको मुख्य दिन आज विजयादशमी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४१९ पटक पढिएको

 

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८:१९ बजे रहेको जनाएको छ । त्यस्तै टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०:२ बजे उत्तम रहेको जनाइएको छ ।  विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समेत बताइन्छ । 

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

दसैं, प्रसाद, आशीर्वाद  र सामाजिक भेटघाट गर्ने पर्व हो । दसैं र टीका एक अर्काका परिपूरक हुन् । सोझो अर्थमा- नौ दिन सम्म नवरात्रका विभिन्न देवीहरुको उपासना गरेर दशौँ दिनमा ती देवीहरुको प्रसाद ग्रहण गरिने भएकाले यो पर्वलाई दसैं भनिएको हो । 

नौ दिनको उपासना पछिको महत्वपूर्ण पक्ष दसौं दिनको टीका अर्थात् प्रसाद वा आशीर्वाद ग्रहण हो । शुभकामना र अभिप्रेरणा को अवसर हो । जसवाट संस्कार, विचार र व्यवहार शुद्धीकृतभै सकारात्मक सोचले समाज विकासमा सहयोग पुग्दछ ।

वर्ल्ड दैनिक परिवार सबैसंग सामेल भएर शुभकामना अर्पण गर्दछ I 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित