कपिलवस्तुको झाडापखालाबाट प्रभावित क्षेत्रको पानीमा दिशामा पाइने जीवाणु फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०४ पटक पढिएको

 

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट प्रभावित क्षेत्रको पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । चिकित्सकको अनुसार कोलिफर्म ब्याक्टेरिया दिशामा पाइने जीवाणु हो । संघीय प्रयोगशाला बुटवलमा पानी परीक्षण गर्दा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको शिवराज अस्पताल, कपिलवस्तुले जानकारी दिएको हो। 

पानीमा कसरी दिशाका जीवाणु मिश्रण भयो भन्ने यकिन भइनसकेको चिकित्सकहरुको भनाई छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि र सय फिटभन्दा कममा गाडेको हाते पम्पको पानीबाट नमुना लिएको बताईएको छ । रिपोर्टको पूर्ण विवरण आउन अझै केहि समय लाग्ने बताउदै  तीमध्ये सय फिटको पम्पमा भने जीवाणु फेला नपरेको चिकित्सकहरुको बनाई छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि केही नमुनामा कोलिफर्म ब्याक्टेरिया फेला परेको पुष्टि गरिसकेका छन् । तर झाडापखाला फैलिनुको अन्य पनि कारण हुन सक्ने भएकाले आवश्यक अनुसन्धानका लागि थप नमुनाको परीक्षण भइरहेको बताएका छन् ।

झाडापखालाबाट कृष्णनगरमा मंगलबार दुई जनाले ज्यान गुमाएका छन् । तीनवटा वडाका ४३० जनामा झाडापखाला भई अस्पताल भर्ना भएकोमा ३१४ जना डिस्जार्ज भएका, ३४ जना रिफर भएका र ८२ जना उपचारमा रहेका बताईएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित