लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणनाको पहिलो चरण पनि हुन सकेन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६८ पटक पढिएको

 

केन्द्रीय तथ्याङ्क विभागका एक उच्च अधिकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरामा घरपरिवार सूचीकरणको काम हुन नसकेको बताएको छ । भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्ने विभागको कार्यतालिका थियो। तर सो अवधिभित्र लिपुलेक, कालापानी र लिम्पियाधुराका घर तथा घरपरिवार सूचीकरण गर्न नसकिएको हो ।

सरकारले भारतसँग कूटनीतिक पहल नगरे सो क्षेत्रमा जनगणना गर्न ‘नसकिने’ गणना गर्ने निकाय र स्थानीय प्रशासकले जानकारी दिएका छन्। गत भदौदेखि शुरू भएको १२ औँ  राष्ट्रिय जनगणनामा नेपालको संशोधित नक्शा अनुसारका सबै भूभाग समेटिने सम्भावना घरपरिवार सूचीकरणको काम नभए सँगै अनिश्चित भएको हो ।

दार्चुला जिल्ला प्रशासन कार्यालयले नयाँ नक्शा आए पनि सो क्षेत्रमा नेपालको नियन्त्रण नभएको कारण समस्या आएको जनाएको छ । संशोधित नक्शाअनुसार नेपालतिर के कति भूभाग र घरपरिवार थपिएका छन् भन्नेबारे नेपाललाई यकिन जानकारी नभएको बताईएको छ ।

गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक संशोधित नक्शा जारी गरेको थियो। भारतीय पक्षले भने नेपालद्वारा जारी नयाँ आधिकारिक नक्शालाई अस्वीकार गर्दै आएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित