भैरव अर्यालको ५ कविताहरु (जन्मजयन्ती विशेष)

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३९३ पटक पढिएको

 

‘मसानको एक टुक्रा हाड’

कैले कैले निद्रामा

त्यसै  देखिएको सपना जस्तो

कैले कैले तन्द्रामा

अनायासै सुनिएको घटना जस्ता

कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले

दिमागको सानो तन्तु हल्लाइदिन्छ

ऊ थियो ।

 

व्यतीतको कहाली लाग्दो महासागरमा

मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा

को कहाँ नेर कती खेर के गर्दै थियो ?

सम्झिरहने कस्को तागत !

खोजी निति गर्ने कस्को फुर्सद ?

राइपनी मसानमा मिल्किएको यो एक टुक्रा हाडले

कल्पनाको एक मूर्ती आक्रिती गर्छ

ऊ थियो ।

 

ईंट ईंटको अन्तरमा उम्रिएर

पँहेलिएको बुटो जस्तो

या धान कुट्ने कल वरिपरि बतासिएको

ढूटो जस्तो,

या उम्रने बित्तिकै छातीमै निदाएको

कैलो कैलो जोश जस्तो,

चाहे जस्तो सुकै या…

या कुट्ता कुट्तै त्यसै  भुस जस्तो

चहे जस्तो सुकै मामूली होस्

भएकोलाई भन्नैपर्छ ।

ऊ थियो ।

 

कुरुक्षेत्रका अठार अक्षौहिणीको नामावली खोइ ?

प्रथम र दृतिय विश्वयुद्धमा होमिने

लाखौंंको वंशावली खोइ ?

सिंहदरबार र ताजमहल,

पिरामिड र चिनिया पर्खाल बनाउँदा

थिच्चिने मिच्चिने, थिच्चिनेमिच्चिने र त्यस्तै

मिच्चिनेहरुको सूचिपत्र खोइ ?

यी कुरा परै जाउन्

पैले ईश्वर भन्न जान्ने ज्ञानी को थियो ?

पैले संयोग गर्न जान्ने ज्यामी को थियो ?

पैले कुटो बनाउने विज्ञानी को थियो ?

यी सबैको त नामोनिमेसी थाह छैन भने

उसको त कसलाई के चासो, के खाँचो !

खाली यति भन्न सकिन्छ

ऊ थियो ।

 

प्रप्ती होइन-

शायद आशै आशको धोको थियो

तृप्ति होइन-

शायद प्यासै प्यास्को पोको थियो

त्यसैले कर्मा र धर्मको समन्वयस्वरुप

खुशी होईन-

खुशी हुने एउटा रहर थियो

बँचाई होइन, बाँच्ने एउटा तर्खर थियो

ऊ थियो ।

 

यदी ऊ एउटा विजेता हुँदो हो –

डरले पनि प्रशंसा चढाउनु पर्थ्यो ,

यदी ऊ पनि एउटा नेता हुँदो हो

करले पनि महिमा बढाउनै पर्थ्यो

तर सस्तो खाना निस्तो हुन्छ

जो पायो सोहीको बारेमा

कस्ले के लेख्छ र ?

त्यसैले एउटा रसहीन कविता जस्तो

एउटा प्लट नमिलेको कथा जस्तो

त्यो मिल्किएको हाडले भनिरहे झैं लाग्छ ।

जो थियो, जस्तो थियो,

एउटा कोही थियो

ऊ थियो ।

(यो कविता भैरव अर्यालले २०२० सालमा औषधी गर्न दिल्ली गएकाबेला जमुना किनारमा बसेर लेखेको हो । )

(स्रोत : होम सुबेदी द्वारा सम्पादित पुस्तक “ भैरव भन्छन ” बाट सभार)

 

 

आत्म-सितार

असँख्य प्रश्न-प्रश्नको समष्टि एक प्रश्न भै

तिमी कता लुकिदियौ मलाई अल्मलाउँदै

थियो कि कामना कसो – हराई जाउँ मै पनि

हताश, निःसहाय भै बिलाउँ शून्य नै बनी ।

 

म किन्तु के हराउँथे ? छ जोश, होश हिम्मत

मथेर व्यर्थता पनि म अर्थ झिक्छु शाश्वत

हजार युद्द हुन यहाँ, फुटून हजार नै बम

मलाई मेट्न सक्छ को? छु जो विनाश हुन्न म ।।

 

मलाई चिन्दछ्यौ तिमी ? म सिर्जना-सितार हूँ

अनन्तसम्म तन्किँदो अनादिको म तार हूँ

म बज्छु झन्झनाउँदै समस्त सौरम्ण्डल

जहाँ तिमी लुकिरहू म खिच्न सकछु त्यो दिल ।।

 

प्रचण्ड तेज हूँ म जो स्वयं दिमाग बाल्दछु

कुहिरिँदो आकाशमा म ज्योति-पंख चाल्दछु

म कान्त कान्तिको पनि सिन्दुर हाल्छु जूनमा

छु ईश ई्शको पनि, म पूर्ण बन्छु न्युनमा ।।

 

म एक खोज हूँ स्वयं छ ध्येय खालि खोजकै

म खोज्न छाड्द्थेँ र के? छ खोज रोज-रोजकै

तिमी जहाँ पुगे पनि, त्यहाँ म आइछाड्द्छु

तिमी जतासुकै रहू, म भोलि पाइछाड्द्छु ।।

 

 

खोल 

अस्पतालको सगाल पलङमा

सेतो सुकिलो ओच्छ्यान पाइ

नयाँ रोगि रम्दछ पहिले

खोल र तन्ना सुम्सुम्याइ

अहा ! कस्तो सफा विच्छौना,

हातको मयल पनि सर्ला जस्तो

कति नरम औ कति मनोरम

खोपि भित्रको शैय्या जस्तो ।

तर जब ओल्टेकोल्टे गर्दा

तन्ना खोल अलि सर्न जान्छ ,

अनि रोगीको आँखा सहसा

भित्री तहमा पर्न जान्छ ।

ती सुकिला खोलहरू भित्र

कति थाङ्ना ती सिरह डसना

टाल्दैतुन्दै छोप्पिरहेको,

सयौं वर्षको अवशेषपना

छ्या! छ्या!! देख्दै डुङ्ग गनाउने

पीप रगतका टाटैटाटा

जति पल्टायो उति घिन लाग्दो

दिशापिशाबले कुहिँदा पाटा

देख्दछ जब यो रोगि

अनि पो खुल्दछ उसमा भित्री पोल

नब्य झैँ लाग्ने, भव्य झैँ लाग्ने,

ओछ्यान रहेछ केवल खोल

दारा किट्छ अनि त्यो रोगि

चिच्याउन लाग्छ च्यात्तै खोल

खोल खोलमै कति दिन धान्छौ

जगजीवनको मोल ।

तर नारी समाइ भन्दछ डाक्टर

छैन यसको ब्रेन कन्ट्रोल

अनि धाइले प्याइदिन्छे

मुसुक्क हाँस्तै रङ्गिन झोल ।

 

मेच

′म′ माने एउटा मेच

एउटा आसन एउटा अडेस

तर छ एउटा महत्व विशेष

चार खुट्टा गतिशेष

′म′ माने एउटा मेच

 

कारिन्दा

उठ्

पुछ्

खा

चुठ्

दुगुर्–दुगुर्

स्वाँ–स्वाँ

बस् धस्

हस् हजुर

लुखुर–लुखुर

स्याँ–स्याँ

तिहुन तमाखु थप

पापाको संसार

ऐजन ऐजन लम्पसार ।

 

वेचविखन

परालको निम्ती कल्चौडाको दुध बेच्छन् गाईहरू

शृंगारको निम्ती सब थोक बेच्छन् देखे सुनेका कति माईहरू

चाराको निम्ती गीत बेच्छन् मीठो बोल्ने सुगाँहरू

नाराको निम्ती सबथोक बेच्दछन् पढेलेखेका कति गुगाँहरू

प्रकाशको निम्ती प्वाख बेच्छन् बत्ती नगिचका डाठहरू

विलासको निम्ती सब थोक बेच्छन् महल निवासी स्वाठहरू

वरदानको निम्ती गर्धन बेच्छन् सिगो उम्रेका बोकाहरू

ज्यानको निम्ती के नबेचुन हामी जस्ता भोकाहरू ?

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित