सेतो पुतलीले म्याग्दीमा आतंक मच्चाउदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३० पटक पढिएको

म्याग्दीका अधिकांश क्षेत्रमा गत भदौ पहिलो सातादेखि सुरुभएको ‘सेतो पुतलीको झुस’को समस्या बढ्दै गएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका छन् ।
सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवाको झुस आँखामा परेर ज्योति नै गुमेको थियो । झुसको समस्याले भदौ दोस्रो सातापछि बढिरहेका समाचारहरु आईरहेका छन् ।
सेतो पुतलीको प्रजननको याम पनि भएका कारण यो समयमा अघिल्ला वर्षभन्दा बढी मात्रामा पुतली देखिएका विशेषज्ञहरुको अनुमान छ । त्यसैगरी साँझ बत्ती बाल्ने समयमा पुतलीको बाक्लो झुन्ड देखा पर्ने सर्वसाधारणहरुको भनाई छ ।
विशेषगरी अगस्ट, सेप्टेम्बर र अक्टोबरमा सेतो पुतली र सापु बढी देखिने गरेको विशेषज्ञहरुको ठम्याई छ । विश्व स्वास्थ्य संगठन र नेपालका चिकित्सकहरुले यसबाट समस्यामा परेका बिरामी १५ हजार जति रहेको अनुमान गरेका छन् ।
सेतो पुतलीको झुसबाट आँखाको ज्योतिमा पर्ने नकारात्मक असरलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) भनिन्छ । यसको मुख्य कारण पुतलीको झुसनै रहेको चिकित्सकहरुको भनाई छ । करिब ४४ वर्षअघि पोखरामा सेतो पुतली भेटिएको दाबी चिकित्सकहरुले गरेका छन् । नेपालमा पहिलो पटक २०३२ मा याे रोग देखिएको थियो । ।
सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तथा उज्यालोमा हेर्न नसकिने हुन्छ । साथै आँखाको दृष्टिमा कमी तथा नानी सेतो हुँदै जाने र पीप जम्ने हुँदा छिटो भन्दा छिटो अस्पताल जानुपर्ने चिकित्सकहरुको सल्लाह छ ।
। यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरिरहेको बताईएको छ ।