आज बाट १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण शुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३८ पटक पढिएको

 

घर तथा घरपरिवारको सूचीकरण शुरुआत संगै आज बाट १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण शुरु भएको छ । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर-घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको हो । 

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या विवरण भरिनेछ । गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ ।

असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने र त्यसपछि मात्र मूल जनगणना हुने छ । जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने  र विवरण भर्ने काम गर्ने विभागले जनाएको छ । 

गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका भए पनि दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गरिने पनि विभागले जनाएको छ । पछिल्लो बि.सं. २०६८  मा सम्पन्न  गरिएको जनगणनामा करिब २ करोड ७० लाख व्यक्तिहरुको  गणना गरिएको  थियो । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।

नेपालको पहिलो जनगणना बिक्रम संबत  १९६८ मा गरिएको थियो । यद्यपि नेपालको पहिलो आधुनिक जनगणना बिक्रम संबत २००९/११ मा सम्पन्न भएको थियो । जसमा करीब ८० लाख जनसंख्याको गणना गरिएको थियो । 

संविधानको धारा २८१  अन्तर्गतको प्रावधानहरुमा भनिएको छ: "नेपाल सरकारले प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनासँगै महिला तथा दलित समुदायको विशेष अधिकारको व्यवस्थाको कार्यान्वयन र त्यसको प्रभाव सम्बन्धमा मानव विकास सूचकांकको आधारमा समीक्षा तथा पुनरावलोकन गर्नेछ"। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित