मङ्गल ग्रहबाट चट्टानको नमुना सङ्कलन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३८५ पटक पढिएको

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहबाट चट्टानको नमुना सङ्कलन गरेको पाईएको छ । “रोशेट“ नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर उक्त नमुना निकालिएको हो । चट्टानमा प्वाल पार्ने अभ्यास साँच्चै सफल भएको घोषणा गर्नका लागि नासाले मङ्गल ग्रहमा खिचिएका थप तस्बिरहरू कुरिरहेको छ । थप तस्बिरले यसको पुष्टि गर्ने अपेक्षा वैज्ञानिकहरूको छ ।

यदि पर्सिभिअरन्स आफ्नो काममा सफल भएको रहेछ भने बाहिरी ग्रहबाट चट्टान सङ्कलन गरिएको यो पहिलो पटक हुनेछ । गत बिहीवार पृथ्वीमा पठाइएका तस्बिरहरू देखेर नासाको टोली उत्साहित छ ।

यो दशकको अन्त्यतिर अमेरिका र युरोपको संयुक्त प्रयासमा ती नमुना अनुसन्धानका लागि पृथ्वीमा ल्याइने योजना रहेको छ । नासाको पर्सिभिअरन्स रोभरले गत फेब्रुअरी महीनामा मङ्गल ग्रहको जेजेरो क्र्याटरमा अवतरण गरेको थियो । अवतरण गरिएको ठाउँबाट रोभर दुई किलोमिटरभन्दा केही पर गुडेर “सिटडेल“ नाम दिइएको डिलमा पुगेको छ ।

सोही स्थानमा भएको चट्टानमा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो । उक्त रोभरमा भण्डारण गर्ने प्रणाली पनि रहेको बताईएको छ । चट्टानमा प्वाल पारेर निकालिएको मानिसको औँलाजत्रो टुक्रा भने टाइटेनीअम ट्यूबमा राखिनेछ । नली आकारको उक्त भाँडोमा नमुना राखेर सील गर्नुअघि रोभरले त्यसको तस्बिर खिच्नेछ ।

गत महीना गरिएको पहिलो प्रयासमा सङ्कलन गर्न खोजिएको नमुना धूलोपिठो भएको बिबिसीले जनाएको छ । गत अगस्टमा यही चरणमा पहिलो पटक सङ्कलन गरिएको नमुना ट्यूबमा नभएको भेउ वैज्ञानिकहरूले पाएका थिए । प्वाल पार्ने क्रममा चट्टान धूलोपिठो भएर भुइँमा खसेको थियो ।
उक्त रोभरले आगामी वर्षभित्र दुई दर्जन भन्दा बढी नमुना सङ्कलन गर्ने जिम्मा पाएको छ । मङ्गल ग्रहको मध्यरेखाबाट २० डिग्री उत्तरमा अवस्थित उक्त खाडल गहिरो र ४५ किलोमिटर चौडा छ । त्यहाँ अर्बौं वर्षअघि विशाल ताल भएको विश्वास पनि गरिन्छ । त्यसैले मङ्गल ग्रहमा जीवन अस्तित्वमा थियो भने जेजेरोको थेगरमा प्राचीन सूक्ष्मजीवको अंश भेटिन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित