Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

जति कम श्वास : दीर्घजीवनको आश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७१ पटक पढिएको

आलाेक लम्साल

१) स्वस्थ दीर्घजीवनको यात्रामा मानिस

कुनै पनि मानिसलाई उसको बाह्य आवरणका आधारमा अर्थात् शरीरको बनोटका आधारमा यत्ति नै उमेर भयो होला भनेर अनुमान गर्न सकिएला ? कहिलेकाहिँ सकिन्छ तर धेरैजसो अनुमान फेल खान्छ । किन ? यस बारेमा के हामीले यसो सोचेका छौं ! यस्ता प्रश्नका अनगन्ती खातहरु छन्, जस्तै : किन कोही मानिस धेरै बूढो हुँदासम्म बाँचिरहन्छ र किन कुनै मानिस सानै उमेरमा नै मर्छ भन्ने विषयले हामीलाई लामो समयदेखि नै अन्योलमा राखेको छ ।

हाम्रा सबै किसिमका क्रियाकलापहरु बुढेसकालको प्रक्रियालाई चुस्त बनाउन र दीर्घायु बन्नका निमित्त हुन् र यस प्रक्रियामा हामी हरहमेशा प्रयासरत हुन्छौं । तर हामीलाई कसरी थाहा हुन्छ कि कुन कार्यले हामीलाई नीरोगी रहन र दीर्घजीवी बन्न मद्दत पुर्‍याउँछ वा कुन कार्य यसको बाधक हो ? यस प्रश्नको हल खोज्नका निमित्त संसारमा स्वास्थ्यसँग सम्बन्धित अनेक अनुसन्धानहरु भएका छन् । अनेक कृतिहरु सम्बन्धित विज्ञले सार्वजनिक गरेका छन् । यसको खोजी गर्दा गर्दा वैज्ञानिकहरु पनि हार खाएका छन् । उही उमेर, उही खानपान, उही रहन सहन तर एउटा अलि बढी स्वस्थ र अर्को अलि बढी कमजोर ? माथि उठाएका प्रश्न भने ज्यूँ का त्यूँ छन् र रहन्छन् । यति हुँदाहुँदै पनि जीवन अनि स्वास्थसँग सम्बन्धित विषयका बारे नौला नौला अवधारणाहरु वैज्ञानिकहरुले लिएर आएका थिए, आइरहेका छन् र आइरहने पनि छन् । यस्तो खोज हज्जारौं वर्ष अगाडिदेखि चलि नै रहेको छ, र चलि नै रहनेछ । आऊँ यसैबारे केही चर्चा गरुँ ।

२) मानिस र अन्यप्राणी

मानिस र अन्य प्राणीमा धेरैजसो कुरा समान भए तापनि केही आधारभूत पक्षमा यी दुवैका बीचमा भिन्नता छन् । ती भिन्नताहरुलाई केलाउने हो भने शरीर र स्वास्थ्यसँग सम्बन्धित विषयहरु नै हुन् । जस्तै, मानिसले शरीर स्वस्थ बनाउनका लागि अतिरिक्त व्यायाम वा विविध शारीरिक क्रियाकलाप गर्ने गर्छ । अर्थात् अन्य जीवजन्तुले जे गर्छन् स्वाभाविक र प्राकृतिक रुपले गर्छन् तर मान्छेलाई जे गरे पनि अतिरिक्त क्रियाकलाप गर्नुपर्ने हुन्छ किन भने मान्छेले प्राकृतिक रुपले आफ्नो जीवननिर्वाह गरिरहेको हुँदैन । जे गर्छ त्यहाँ केही न केही अस्वाभाविकता वा अप्राकृतिकता जाँनिदो वा नजाँनिदो पाराले गाँसिएकै हुन्छ । श्वासप्रश्वास प्रणालीका बारेमा पनि मानिस र अन्य जीवजन्तुको प्रक्रियालाई पनि दीर्घजीवनको विषयसँग ढालेर हेर्ने गरिएको छ ।

३) दीर्घजीवनका लागि श्वासप्रश्वास

विश्वप्रसिद्ध चिन्तक एवं योगी क्यामरुन अल बोर्जियानले हफिङ्टन पोष्टमा एउटा आलेख मार्फत दीर्घजीवन र श्वासप्रश्वासको सम्बन्धका बारेमा चर्चा गर्दै परमहंस योगानन्दद्वारा लिखित योगीको आत्मकथा (Autobiography of a Yogi) नामक पुस्तकको उल्लेख गरेका छन् । उनले सन् २०११ मा उक्त आलेख मार्फत परमहंस योगानन्दद्वारा लिखित उक्त ग्रन्थमा विभिन्न जनावरहरुको श्वासप्रश्वास सम्बन्धी क्रियाको गहन विश्लेषण भएको र त्यसमा एक निश्चित समयमा अर्थात् एक मिनेटमा कुन जनावरले कतिपटक श्वास फेर्छ र सो क्रम अन्य कुन जनावरमा कतिपटक छ भन्ने कुराको उदाहरण दिँदै कसरी एक मिनेटमा थोरै चोटी सास फेर्ने जन्तु लामो समय बाँच्ने र एक मिनेटमा धेरै चोटी सास फेर्नेको उमेर कम हुने भनेर उल्लेख गरेका छन् ।

उनले यसमा विस्तारमा लेख्दै विभिन्न जनावरहरुको उदाहरण दिएका छन् । कुकुरले एक मिनेटमा ३० देखि ५० पटकसम्म सास फेर्छ । त्यसको औसत आयु १५ देखि २० वर्ष हुन्छ । हात्तीले एक मिनेटमा ८ देखि १० चोटी सम्म सास फेर्छ र त्यसको औसत आयु ६० देखि ९० वर्षसम्म हुन्छ । मूसाले एक मिनेटमा ८० देखि २०० चोटी सम्म सास फेर्छ र त्यसको औसत आयु लगभग एक देखि तीन वर्षसम्म मात्र हुन्छ । तर, कछुवाले भने एक मिनेटमा मात्र तीन देखि पाँच पटक सम्म सास फेर्छ र त्यसको औसत आयु २०० वर्ष वा त्यो भन्दा बढी हुन्छ ।

यसै आधारमा मानिसको श्वासप्रक्रियालाई यहाँ विश्लेषण गर्दा उसको श्वासको गति औसतमा एक मिनेटमा १२ देखि २० चोटी सम्म हुने गर्छ र उसको औसत आयु ८० वर्ष मानिएको छ । यसबाट हामीले के बुझ्न सक्छौं भने, श्वासप्रश्वासको गति र आयु प्रत्यक्ष रुपले सम्बन्धित छन् ।

४) केही वैज्ञानिक प्रमाण र अनुसन्धानहरु

ब्रीद (Breathe) नामक जर्नलमा सन् २०१७ मा छापिएको अनुसन्धान अनुसार क्रोनिक हार्ट फेलियर भएका मानिसमा नियन्त्रित तथा सुस्त श्वासप्रश्वासको अभ्यास (Slow breathing practice) गराउँदा त्यसको नतीजा राम्रो आएको र तिनीहरु तुलनात्मक रुपले छिटो सञ्चो हुँदै गएको भनी उल्लेख गरिएको छ । नियन्त्रित श्वास प्रश्वासले पल्स (Pulse) अर्थात् नाडी र मुटुको गतिमा एक किसिमको सामञ्जस्य लिएर आएको यही अनुसन्धानमा उल्लेख गरिएको छ ।

यूक्रेनियन डाक्टर कन्स्टाण्टिन बुतेको (Konstantin Buteyko) को अनुसन्धान अनुसार अनियन्त्रित श्वासप्रश्वास (Hyperventilation) रोगसँग प्रत्यक्ष रुपले सम्बन्धित छ । यस खोजपछि उनले योग र प्राणायामको सहायताले आफ्नै श्वास प्रश्वास प्रणाली निर्माण गरेका थिए । उनको प्रणाली अनुसार श्वासप्रश्वासलाई आफ्नो नियन्त्रणमा राख्नु भनेको शरीरका हरेक क्रियाकलापलाई आफ्नो अधीनमा राख्नु हो । यस प्रविधिलाई केही समयको प्रयोग पछि रसियन सरकारले पनि स्वीकृति दिएको थियो । बुतेकोको यस्तो प्रविधिको प्रयोगले हज्जारौं अस्थमा रोगी, मुटु रोगी र श्वासप्रश्वास सम्बन्धी बिरामी निको भएका थिए ।

२००९ मा न्यूयोर्क टाइम्समा छापिएको एउटा आर्टिकलमा पनि कन्स्टाण्टिन बुतेकोको प्रणाली प्रयोग गरेर दशौं वर्षसम्म अस्थमाबाट पीडित व्यक्ति पनि विस्तारै सामान्य स्वस्थ जीवनशैलीमा फर्किएको उल्लेख गरिएको छ । ती व्यक्ति त यति सम्म पीडित थिए कि उनले औषधि लगायत स्टेरोइडको समेत प्रयोग गरेको लेखिएको छ । तर विस्तारै यही प्रणालीलाई अवलम्बन गरे सँगै उनी सञ्चो भएको उल्लेख गरिएको छ । अमेरिकामा उनी मात्रै नभएर यस्ता हज्जारौं मानिस यस प्रविधिको सहायताले अस्थमा जस्तो घातक रोगबाट सञ्चो भएको पनि रिपोर्ट सार्वजनिक भएको थियो ।

किंग्स कलेज अफ लण्डनका एक विज्ञ अनुसन्धाता हसन जफारीको अध्ययन अनुसार, लामो र गहिरो सास फेर्ने हो भने मानिसले आफ्नो दुःखको व्यवस्थापन राम्रो सँग गर्न सक्छ ।

Frontiers in Human Neuroscience जर्नलमा छापिएको लेख अनुसार सुस्त र गहिरो सास फेर्दा उदासीनता र चिन्ताका लक्षणहरुलाई कम गर्न मद्दत पुर्‍याउँछ र यसले अनिद्रालाई कम गर्न पनि सहयोग गर्दछ ।

हाम्रो शरीरको मेटाबोलिज्म (Metabolism) का लागि ९२ प्रतिशत एनर्जी सास प्रश्वासबाट आउँछ । जति छिटो छिटो हामीले सास फेर्छौं उति नै चाँडो गतिमा हाम्रा शरीरका अंगहरुले काम गर्नुपर्ने हुन्छ । त्यसैले यी द्रुत गतिमा चल्ने अंगहरुले आधा मात्रै काम गरिरहेका हुन्छन् । अंगले आधा काम गर्नु भनेको रोगी हुनु हो । त्यसैले अंगलाई पूर्ण रुपले काम गराउनका लागि नियन्त्रित श्वासप्रश्वास या भनौं मिनेटमा थोरै चोटी श्वासप्रश्वास गर्नाले सबै अंगप्रत्यंगहरुले चुस्त र राम्रोसँग काम गर्न सक्छन् ।

एकजना सीनियर मेडिकल कन्सल्टेण्ट पार्थिम प्रतीम बोसले पनि मानिस स्वस्थ र दीर्घजीवी रहनका लागि कछुवाको गतिमा सास फेर्नुपर्ने हुन्छ भनेर लेखेका छन् । यो कछुवाको गतिमा सास फेर्नु एउटा चाइनिज ध्यानको अभ्यास पनि हो । यसको चाइनिज नाम Qigong अथवा चिकुङ Chinkung पनि भन्ने गरिन्छ ।

मानिस अक्सिजन विना केवल केही समय मात्र बाँच्न सक्छ । यसको खास कारण ऊर्जाको कमीले गर्दा हो । हामीले प्रयोग गर्ने अक्सिजनले दक्षताका साथ ऊर्जा उत्पादन गर्न आवश्यक छ । अक्सिजनको सहायताले हामीले खाने कुरामा उपलब्ध ऊर्जाको ९२ प्रतिशतसम्म शरीरलाई आवश्यक हुने तत्त्व निकाल्न सक्छौं । तर, यदि अक्सिजनको सही सदुपयोग गरिएन भने अथवा अक्सिजन विना जम्मा ८ प्रतिशत मात्र शरीरका लागि आवश्यक तत्त्व निकाल्न सकिन्छ ।

उल्लिखित कुराले अक्सिजन कत्तिको महत्वपूर्ण छ भन्ने कुरा बताउँछ । हामी अक्सिजनमा यति धेरै निर्भर हुँदा हुँदै पनि किन शरीरमा यसको थोरै मात्रामा भण्डारण गर्दछौं ? आरामको अवस्थामा हामीले प्रति मिनेट २५० एम.एल. अक्सिजन मात्र लिन्छौं । Plos one जर्नलमा सन् २०१२ मा छापिएको आर्टिकल Transcutaneous Application of Carbon Dioxide (CO2) Induces Mitochondrial Apoptosis in Human Malignant Fibrous Histiocytoma In Vivo  का अनुसार हामीले यति थोरै मात्रामा अक्सिजन लिनुको कारण, अक्सिजन अति धेरै प्रतिक्रियाशील छ र कतिपय सन्दर्भमा यो धेरै नै खतरनाक र विषाक्त पनि हुन्छ । यसले Oxidative Stress निम्त्याउँछ, त्यसैले शरीरले थोरै मात्राको अक्सिजन माइट्रोकोण्ड्रिया (कोषिकाको पावर हाउस) मा पुर्याउँछ ।

त्यसैले शरीरमा छिटो छिटो सास फेरेर अक्सिजन पुर्याउनु भनेको आफूलाई छिट्टै नै चितामा आत्मसमर्पण गर्नु जस्तो हो । हुनत सबै जना एक न एक दिन मर्नु नै छ, तर त्यो मृत्यु सरल र सहज गराउनका निमित्त हामीले यस प्रक्रियालाई अवलम्बन गर्नुपर्ने हुन्छ ।

५) श्वास नाकले फेर्ने कि मुखले

केही समय अगि बेलायतको क्वीन्स हस्पिटलमा कार्यरत डक्टर सरफराज मुन्सीको एउटा भीडियो भाइरल भयो । उनले भीडियोमा कोरोना भाइरससँग लड्नका लागि श्वासप्रश्वासको एउटा खाले शैलीलाई देखाएका थिए । त्यस भीडियोलाई विश्वचर्चित ह्यारी पोटरकी लेखिका जे.के. राउलिङले समेत ट्वीटरमा शेयर गरेकी थिइन् । त्यस भीडियोमा डा. मुन्सीले मुखबाट लामो लामो श्वास लिने र केही समय रोकेर श्वास फ्याँक्ने नियम बताएका थिए । यो प्रक्रिया लगभग पाँच चोटीसम्म गर्नुपर्ने उनले बताएका थिए । त्यसपछि घोप्टो परेर सुत्ने र नर्मल श्वास फेर्ने भनेका थिए ।

यस प्रक्रियालाई योगको एउटा महत्त्वपूर्ण ग्रन्थ घेरण्ड संहिताको पाँच नम्बर अध्यायको ७२ नम्बरको श्लोकमा उल्लेख गरिएको छ । घेरण्ड संहितामा लेखिएको छ : मुख खोलेर जिब्रोको साथमा हावा तानेर पेट भर्नुहोस्, केही समय सास रोक्नुहोस् र दुवै नाकका प्वालहरुबाट श्वास फ्याङ्ग याँक्नुहोस् । यस प्रक्रियालाई लगभग तीनदेखि पाँच मिनेटसम्म गर्नुहोस् । घेरण्ड संहिताका अनुसार यो प्रक्रिया शरीरलाई शीतल राख्न प्रयोग गरिन्छ । कोरोनाका बेलामा शरीर तात्न सक्ने भएकाले यस क्रियालाई प्रयोगमा ल्याउँदा फरक पर्दैन । तर एउटा कुरा हामीले के पनि जान्न आवश्यक छ भने यस प्रक्रियालाई जाडाको मौसममा निषेध गरिएको छ र शान्त शीतल प्रकृतिका मानिसलाई पनि निषेध गरिएको छ ।

श्वासप्रक्रियाको उक्त प्रविधिलाई घेरण्ड संहिताले उल्लेख गरे तापनि सोही घेरण्ड संहितामा कुनै निश्चित प्रक्रिया र अवस्था बाहेक मुखबाट सास फेर्न वर्जित गरिएको छ र, नाकबाट श्वास फेर्ने कर्मलाई विशेष रुपले ग्राह्यता दिइएको छ ।

६) मुखबाट श्वास किन फेर्नु हुँदैन

१) मुखबाट श्वास फेर्नाले डायफ्राममा अक्सिजनको मात्रा पर्याप्त पुग्दैन ।

२) बाहिरबाट फोक्सोमा लिइएको अक्सिजनलाई मुखले फिल्टर गर्न सक्दैन र शरीरको तापक्रममा पनि समस्या आउन सक्छ ।

३) मुखबाट श्वास फेर्नाले २०% भन्दा बढी शरीरको तापक्रम हामीले क्षय गरिरहेका हुन्छौं ।

४) मुखबाट श्वास फेर्नाले हाम्रो रोगप्रतिरोधात्मक शक्तिमा ह्रास आइरहेको हुन्छ र शक्ति पनि सकिन्छ ।

५) मुखबाट श्वास फेर्नु भनेको मुटु, दिमाग र अरु महत्वपूर्ण अंगलाई फेल गराउँदै जानु हो ।

६) मुखबाट श्वास फेर्नु भनेको विस्तारै घुर्ने समस्या आउनु हो र Sleep Apnea (स्लीप एपनिया एक गम्भीर निद्राको समस्या हो जसमा श्वास बारम्बार रोकिन्छ) लाई पनि आमन्त्रित गर्नु हो ।

७) नाकबाट श्वास किन फेर्ने

१) नाकबाट श्वास फेर्नाले अक्सिजन शरीरको तापक्रमसँग मिल्न जान्छ, यो ओसिलो हुन्छ र नाइट्रिक अकसाइडसँग त्यो मिल्न जान्छ । यसले दुईवटा महत्वपूर्ण कार्य गर्छ :

क) शरीरमा हुने खतरनाक किसिमका ब्याक्टेरियालाई नाश गर्छ ।

ख) भेसोडिलेटर (vasodilator) को काम गर्छ जसले श्वास प्रश्वास नली र नशाहरुलाई खुलाउने काम गर्छ ।

२) ल्यान्सेट जर्नलमा १९८८ मा छापिएको आर्टिकल इचयलबकब Oronasal obstruction, lung volumes, and arterial oxygenation अनुसार नाकबाट सास फेर्नाले, ब्लड सर्कुलेशन चुस्त हुन्छ, अक्सिजन र कार्बन डाइअक्साइडको मात्रालाई व्यवस्थापन गर्छ, श्वास प्रश्वासको गतिलाई पनि व्यवस्थित गर्छ र फोक्सोको आयतनमा पनि सुधार ल्याउँछ ।

३) सन् २००८ को Respiratory and physiology and neurobiology मा छापिएको अर्टिकल Air-conditioning in the human nasal cavity अनुसार नाकले ९०% शरीरको एयर कण्डिशनको रुपमा काम गर्छ । त्यति मात्र नभएर शरीरको ३३% तापक्रम र आद्र्रताको पनि व्यवस्थापन गर्छ ।

४) व्यायामको क्रममा नाकबाट सास फेर्नाले अक्सिजन र कार्बनडाइअक्साइडको मात्रालाई पनि नियन्त्रण गर्न सकिन्छ ।

५) International journal of neuroscience अनुसार नाकबाट सास फेर्ने हो भने दिमागले पनि राम्रोसँग कार्य गर्छ । यसले हावाको सेवनलाई व्यवस्थित गर्दछ र मानिसलाई आनन्दित बनाउँदछ । उचित तरीकाले नाकबाट सास फेर्ने हो भने धेरैजसो व्यक्तिको लागि उच्च रक्तचाप र तनावको अचूक औषधि बन्न जान्छ ।

६) मुखबाट सास फेर्नाले जीवनवृत्तिमा नराम्रो असर गर्छ । नाकबाट लिने अत्यन्त मीठा र सुन्दर गन्धहरुको कल्पना गरौं । गन्धले हाम्रो व्यवहारमा प्रत्यक्ष असर गर्छ । हाम्रो सम्झना शक्तिमा निकै ठूलो प्रभाव पार्दछ र त्यसभन्दा माथि हाम्रा स्वायत्त तांत्रिक प्रणालीमा समेत जागरुकता लिएर आउँछ ।

र, अन्त्यमा,

श्वासप्रश्वास प्रक्रियाका बारेमा उल्लिखित अनेक अनुसन्धान भएका छन् । तर त्यसको आधारभूत जरो पहिल्याउन पर्यो भने हामी पूर्वीय चिन्तनमा नपुगी धरै छैन । पूर्वीय सिद्धान्त अनुसार श्वासप्रश्वास प्रणालीलाई प्राणायाम भन्ने गरिएको छ, जुन योगसँग सम्बन्धित छ । योगका आठ अंगमध्ये प्राणायाम चौथो अंग हो । प्राणायाम र योगका बारेमा घेरण्ड संहिता, हठयोगप्रदीपिका र अन्य पूर्वीय विज्ञानका ग्रन्थमा सविस्तार लेखिएको छ । त्यसैले जति हामी हाम्रो श्वास प्रश्वासलाई व्यवस्थित गर्छौं र नाकबाट सास लिने प्रयास गर्छौं तब हाम्रो जीवन रोगविहीन र शक्तिशाली हुन्छ । घेरण्ड संहितामा लेखिएको छ, श्वास प्रश्वासलाई चुस्त दुरुस्त र व्यवस्थित गर्ने हो भने जीवन ऊर्जाशील रहन्छ, तर यदि श्वास प्रश्वासको गति बढाउने हो भने त्यसले सबै ऊर्जामा ह्रास आउँछ ।

रमाइलो कुरा त के छ भने, श्वास प्रश्वासको अभ्यास गर्ने व्यक्तिले एक मिनेटमा करीब ६ चोटी सम्म सास फेर्छन् । यसले फोक्सो, मुटु र दिमाग बीच सकारात्मक प्रतिक्रिया प्रदान गर्दछ । यदि हामी यस अभ्यासमा सफल भयौं भने हामीले हाम्रो शरीरको आधारभूत शारीरिक तालको प्रवर्धन गर्न सक्छौं ।

अहिलेको यो तँछाड मछाडको दुनियाँमा यी कुरालाई ध्यान दिने समय नै कहाँ छ र? हामीलाई त बिरामी भएपछि, केही समय ट्याब्लेट निलेपछि, सञ्चो भएको आभास भए पुग्छ । त्यसको दीर्घकालीन असरका बारेमा खासै मतलब छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित