चीनमा खाद्यान्न अभावका कारण आफूसँग भएको सामान साटफेर

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १६० पटक पढिएको

 

चीनको शीआन सहरमा खाद्यपदार्थको अभाव हुँदा नगरवासीहरू आफूसँग भएको सामान साटफेर गर्न थालेका छन् । ओमिक्रोन फैलिएसँगै शीआनमा झन्डै एक करोड ३० लाख मानिस घरभित्र बस्न बाध्य छन् । लकडाउनका बेला उनीहरू खाद्यान्न किन्न पनि बाहिर निस्किन पाउँदैनन् ।

बीबीसीका अनुसार सरकारी निकायले स्थानीयहरूलाई निःशुल्क खाना उपलब्ध गराउँदै आए पनि सो प्राप्त खाना पर्याप्त नभएको बताएका छन् । केहिले भने अझै पनि सहायता पाउन नसकेको जनाएका छन् ।

केही समययता मानिसहरूले यसबारे सामाजिक सञ्जालमार्फत् गुनासो पोख्न थालेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूमा त्यहाँका बासिन्दाले खाद्यपदार्थ लिन आफूसँग भएको खाद्यान्न वा विद्युतीय उपकरण दिइरहेको देखिन्छ ।

चीनको सामाजिक सञ्जाल वेबोमा मानिसहरूले बन्दा र चुरोट, स्याउ र भाँडा माझ्ने तरल पदार्थ, तरकारी र स्यानिनटरी प्याड आदानप्रदान गरेको भिडियो तथा तस्बिरहरु सार्वजनिक गरेका छन् ।

शीआन सहर अहिले कोभिड-१९ महामारीको केन्द्रबिन्दुमा छ । त्यहाँका स्थानीय निकायहरूले सङ्क्रमण नियन्त्रणका लागि कडा नियमहरू लागु गरे सँगै सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ । यहाँ फैलिएको सङ्क्रमण चीनले महिनौँपछि भोगेको सबैभन्दा खराब अवस्था भएको बताईएको छ । 

यसैगरी मङ्गलवार तीन लक्षणविहीन मानिसमा सङ्क्रमण पुष्टि भएपछि अधिकारीहरूले दोस्रो सहरमा पनि पूर्ण लकडाउन गराएका छन् । शीआनबाट ५०० किलोमिटर टाढा रहेको सहर युझाउका करिब ११ लाख मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित