पुटिन र बाइडेन बीच भिडियो वार्ता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३७८ पटक पढिएको
अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच भएको भिडियो वार्तापछि अमेरिकाले युक्रेनमा आक्रमण गर्नसक्ने त्रासको कडा प्रतिक्रिया जनाउने तयारी भैरहेको जनाएको छ । भिडियो वार्ताका क्रममा पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार बाइडेनले रुसलाई बलियो आर्थिक तथा अन्य प्रतिक्रियाको धम्की दिएको वासिङ्टनले जनाएको छ । पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ । तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ ।
त्यस्तै, बैठकमा पुटिनले आफ्नो सीमाना नजिकै नेटो सेनाको उपस्थिति र हतियार तैनाथीलाई लिएर चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
रुसी समाचार संस्था टासका अनुसार एक सुरक्षित भिडियो लिङ्कमार्फत् बाइडेन र पुटिनबीच कुराकानी भएको थियो । छलफलको सुरुवाती समय देखिने भिडियो फुटेजमा दुई देशका नेताहरूले मित्रतापूर्वक अभिवादन गरेको देखिन्छ । त्यसपछिको गोप्य छलफल झन्डै दुई घण्टासम्म चलेको बताइएको छ । दुई देश बीच भएको भिडियो वार्तामा संवेदनशील विषयहरूमा मिलेर कामहरू जारी राख्ने छलफल भएको बताईएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए । तस्बिर: रोयटर्स