छोपिएर राखिएको दन्तचिकित्साको इतिहास (भिडियो सहित)
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४४६ पटक पढिएको
असनको एउटा सानो गल्लीमा ठुलो रुखको अवशेष । जसमा अनगिन्ति पैसाको सिक्का किलाले ठोकिएको छ । अहिले यसलाई दन्तेश्वरी भनेर चिनिन थालिएको छ । यसको वास्तविक नाम भने “वाश्या द्यो” हो । “वाश्या द्यो" नेवारी शब्द हो । जसको अर्थ हुन्छ दाँतको दुखाई कम गर्ने देवी । यहाँ कुनै मन्दिर वा मुर्ति छैन तर पनि सबैले यसलाई पुज्ने गर्छन् ।

दाँत सम्बन्धी कुनै पनि समस्या छ भने यहाँ आएर पूजा गरि पैसाको सिक्कामा किला ठोक्नु पर्छ भन्ने मान्यता रहेको छ । सँगै टाँसिएको भित्ताहरुमा समेत सिक्का र किला ठोकिएको देख्दा यसमाथि कति आस्था छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । यद्दपि यसमा कुनै ठोस बैज्ञानिक आधार भने भेटिएको छैन । खासमा यहाँ पूजा गर्दा किला मात्र ठोक्ने गरिन्थ्यो । सिक्काहरु भने चढाईने मात्र गरिन्थ्यो । तर, सिक्काहरु हराउदै गएकाले किलासँगै सिक्का पनि ठोक्ने गरेको भन्ने गरिन्छ ।
यो काठमाण्डूकै पुरानो मन्दिरहरु मध्येको एक हो । निकै पुरानो भएकै कारणले यसमा नेपालको पुराना पुराना पैसाको सिक्काहरु पनि ठोकिएको देख्न सकिन्छ । यो रुखको अवशेष अलि बाङ्गिएको भएर यसलाई “बांगेमुडा” पनि भनिन्छ ।
बांगेमुडा कान्तिपुरमा वस्तिविकास हुनु भन्दा पहिलेको हो भन्ने पनि गरिन्छ । काष्टमण्डप एउटै रुखबाट निर्माण भएको भन्ने विश्वासबाटनै काठमाडौँमा पहिले पहिले ठुलो रुखहरु भएको विश्वास रहेको पुरातत्व विभागले जनाएको छ । विभागका अनुसार मानिसको बसोबास हुन थाले पछि त्यस रुखको हाँगाबिगा फाड्दै बस्ति बसेको हो । यसको अन्य अवशेषहरु अझै पनि संगै टासिएको पाटीहरुमा भेटिन्छ । यो रुखको एक भाग २०० मिटर पूर्व भोटाहिटी सम्म फैलिएको छ भन्ने गरिन्छ । यो लिच्छवी कालदेखि यहाँ अवस्थित रहेको स्थानीय बासिन्दाहरुको भनाई छ ।
यो रुखको बारेमा धेरै किम्बदन्ती रहे पनि यो के को रुख हो ? कत्रो छ ? कहिले देखि छ ? भन्ने कसैलाई थाहा छैन । यस बारेमा अध्ययन अनुसन्धान हुन बाकींनै छ । नेपाल डेण्टल एशोसियसनले पनि यसबारे आफ्नो आधिकारिक वेबसाईटमा थोरै जानकारी राखेको छ । यसबारे अध्ययन गर्दै जाँदा हामीले त्यहाँका स्थानीय समाजसेवी तीर्थलाल राजभण्डारी न: घ: ले लेखेका “थायमदु त्वा.” नामक किताबको पाण्डुलिपी प्राप्त गरेका थियौं ।
जसको पृष्ठ नं १९ मा लेखिएको छ, “एउटा रुखको जराको फेदको अंश छ । जुन कति पूरानो हो, अहिले सम्म थाहा हुन सक्या छैन । त्यसलाई मान्छेहरुले देउता मानेर पूजा गर्दै आएका छन् । त्यस्तो गर्नाले दाँतदुख्न कम हुन्छ भन्ने गरिन्छ र त्यति मात्र नभएर निको पनि भईरहेको । शुरुमा मान्छेहरु यसमा पूजा गरेर मात्र अस्पताल जान्थे । आजकल डाक्टरकोमा गएर मात्र पूजा गर्न आउँछन् । कपासले नागको बिम्ब बनाएर पूजा गर्ने हुँदायसलाई नाग हो पनि भन्ने गरिन्छ । अहिले यो रुख भिजेर मक्किएर नाश भएर गईरहेको छ । यो रुख कहाँबाट आएको पनि अहिले सम्म कसैले भन्न सकेको छैन ।
उक्त किताब वि.सं २०५४ भदौ २१ गते नेवारी भाषामा लेखिएको थियो । यो किताब छिट्टै प्रकाशनमा आउने उनकी छोरी तथा समाजसेवी रीता राजभण्डारीको भनाई छ ।
वाश्या द्यो जस्तै काठको मुडामा किला ठोक्ने ठाउँ “चिकंमुगल” मा पनि छ । त्यसमा पनि किला ठोक्ने गरेको हुँदा वाश्या द्यो र चिकंमुगलको सम्बन्ध रहेको स्थानीयहरु बताउने गर्छन् ।
अहिले उक्त देवीलाई सीसाले छोपिएर राखिएको छ । केही समय अगाडि मात्र त्यहाँको सानो अंश चोरी भएको कारण यसलाई सुरक्षित राख्नको लागी सीसाले छोपिएको बताइएको छ । धेरै मानिसहरु आफ्नो दाँतमा समस्या भएको भन्दै किला ठोक्न आएको देखेर त्यहाँका स्थानीय बासिन्दा अस्टमान राज भण्डारीलाई निकै उत्सुकता जाग्यो । उनी नेपालको पहिलो दन्त चिकित्सक हुन् । उनि कुनै शिक्षित वा तालिम प्राप्त दन्त चिकित्सक थिएनन् । तर दन्तेश्वरीमा आउने मान्छेहरुको समस्या समाधान गर्ने र समाधान गर्न नसके परामर्श मात्रदिएर भएपनि मद्दत गर्ने गर्थे ।
वि.सं. १८८० सालमा कलकत्तामा एन्ट्रेन्स परीक्षा दिनजाने र पास गर्ने प्रथम विद्यार्थी टोलीमा उनि पनि थिए ।
त्यति बेला उनको काका मान राज भण्डारी राणा परिवारको खरिदार थिए । उनलाई पनि दाँतको समस्याले सताई रहने र यता अष्टमानले पनि हल्काफुल्का दाँतको उपचार गर्ने हुँदा उनले राणा माझ आफ्नो भतिजलाई तालिमका लागि कलकत्ता पठाउन प्रस्ताव राखेको पारिवारिक स्रोतको भनाई छ । त्यसपछि राणाको पहलमा अष्टमान कलकत्ता गए । तालिमबाट फर्केको केही समय पछिनै उनि नेपालमा दाँतको समस्या समाधान गर्ने पसल खोलेर बस्न थाले ।
त्यस समय दाँतको उपचार तथा चिकित्सालय सम्बन्धि एकदमै फरक र नयाँ प्रयोग भैरहेकाले दन्त चिकित्सालयलाई दाँतपसलनै भनिन्थ्यो । उनि दाँतको परीक्षण तथा उपचार गर्न थाले सँगै राणापरिवारको पारिवारिक दन्त चिकित्सक पनि बने । त्यसपछि बिस्तारै नेपालकै अन्य राजभण्डारीहरुलाई पनि राणाले दन्त परीक्षणको तालिम लिन पठाए । जसमा घनमान राजभण्डारी, शिवमान राजभण्डारी र बजरीबहादुर राजभण्डारी थिए ।
त्यसैगरी भारतमा औपचारिक शिक्षा सुरु भएपछि द्वारिका मान राजभण्डारी र बसन्तबहादुर राजभण्डारी पढ्न गए । उनिहरु भने नेपालको पहिलो शिक्षित दन्तचिकत्सक भनेर चिनिन सफल भए ।
बसन्तबहादुर राज भण्डारी भने नेपाल दन्त चिकित्सक संघको संस्थापक तथा पहिलो अध्यक्ष समेत हुन् । राज भण्डारीहरु नेपालको पहिलो दन्तचिकित्सकको रुपमा स्थापित हुँदै गर्दा राणाहरुको पारिवारिक दन्त चिकित्सक हुने क्रम पनि जारीनै रह्यो । त्यसपछि नेपालमै पनि दन्त चिकित्सक तथा दन्त चिकित्सालयहरुले औपचारिक मान्यता पाउन थाले ।
करीब ९० वर्ष पुरानो दन्तचिकित्सालयहरु भएको यस ठाउँमा यति धेरै दाँत पसलहरु छन् कि जसले गर्दा यस क्षेत्रलाई दाँत बजार भनेर पनि चिन्ने गरिन्छ । यहाँ नयाँ भन्दा पनि बढी पुरानो दन्त चिकित्सालयहरु छन् । दन्तेश्वरीको अगाडि मात्र उभिएर गन्यो भने पनि हातको औंलामा गन्न नसकिने दाँतपसल छन् । यहाँ चिकित्सालयहरुमा उपचार गर्ने पुरानो र आधुनिक दुवै प्रविधिहरु देख्न सकिन्छ ।
यस क्षेत्रमा अहिले अस्ट मान राज भण्डारीको दन्तक्लिनिक त छैन तर घन मान राजभण्डारी, शिवमान राजभण्डारी र द्वारिका मान राजभण्डारीको क्लिनिक भने अझै पनि संचालनरत छन् । उनीहरुले आफ्नो कामलाई पुर्ख्यौली मानेका छन् । उनीहरुको पसलमा अहिले पनि पुरानो प्रविधिहरु हेर्न पाईन्छ ।
नेपालमा दन्तचिकित्सालय र दन्तचिकित्सकको अंकुरण गर्ने यस क्षेत्र र वाश्या द्योलाई अहिले सम्बन्धित निकायको आवश्यक छ । अब उक्त रुखको अवशेषमा किला ठोक्न मिल्दैन । पैसाको सिक्कामा किला ठोक्ने जुन परम्परा रहिआएको छ त्यस माथि बन्देज लगाइएको छ । जसलाई स्थानीय बासिन्दा र पुरातत्वविद्हरुसंगै दन्तचिकित्सकहरुले समेत आपत्ति जनाएका छन् ।
वाश्या द्यो को केहि अवशेष बारम्बार चोरि हुने प्रयास भैरहेको हुँदा त्यसलाई जोगाउनको लागि सिसाले छोपिएको वडा नं २५ का वडा अध्यक्ष निल काजी शाक्यले बताएका छन् । किला ठोक्नको लागि भने वाश्या द्यो कै तल अर्को काठ राखिने जनाउंदै उनले आकस्मिक सुरक्षाको लागि मात्र सिसाले छोपिएर राखिएको बताएका हुन् । काठ सिसा भित्र भए पनि त्यसलाई बिग्रन नदिन त्यहाँ विशेष केमिकल प्रयोग गरिएको उनको भनाई छ । आकस्मिक सुरक्षाको लागि त्यसलाई छोपिएर राखिए पनि अझै कसरि जोगाउने भनि छिटै स्थानीय र विज्ञसँग परामर्श गरिने उहाँले प्रतिबद्दता जानेको छ ।
ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण गर्दा यस संग सम्बन्धित विज्ञहरुको सल्लाह, सुझाव अनुसार कार्य गरि सबै कार्यको अभिलेखीकरणको आवश्यकता छ।
भिडियो :