प्रदेश एक सांसद टंक आङ्बुहाङ बर्खास्त
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५८२ पटक पढिएको
नरेश भाट
सर्वोच्च अदालतको निर्णयसँगै नेकपा दुई भागमा विभाजित भएको थियो, माओवादी केन्द्र र एमाले । माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देखि पार्टीका साधारण सदस्यहरु समेत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका केन्द्रीय सभासद्हरु प्रधानमन्त्री ओली नेतृत्वको सरकारका मन्त्री बनेका छन् ।
यस्तै प्रदेश नम्बर एक माओवादी केन्द्रका सांसद, टंक आङ्बुहाङले माओवादी केन्द्रलाई परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए । आङ्बुहाङ्ले एमालेमा प्रवेश गरेपछि चैत १३ गते एक नम्बर प्रदेश सरकारको आर्थिक मामीला तथा योजना मन्त्री बनेका थिए । पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रदेश संसद टंक आङ्बुहाङ्लाई नेकपा माओवादी केन्द्रले संसद पदबाट बर्खास्त गरेको छ ।
नेकपा माओवादी केन्द्रले पार्टी त्याग गरी एमालेमा प्रवेश गरेका सांसद टंक आङ्बुहाङलाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरणलाई वेवास्ता गरेकाले उनलाई पार्टीले कारवाही गरेको हो ।
माओवादी केन्द्रको प्रदेश नम्बर एकको संसदीय दलको सिफारिसमा अध्यक्ष पुष्पकमल दाहालले उनलाई कारवाही गरेका हुन् । कारवाही स्वरुप अध्यक्ष प्रचण्डले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका छन् ।
एमालेमा लागेर मन्त्री बनेका टंक आङ्बुहाङको संसद पद पार्टीले खारेज गरेपछि अब उनको कार्यकाल छ महीनाको लागि मात्र रहने छ । गैर संसदले छ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक प्रवधान छ ।