शेयर लगानीकर्ताले जान्नै पर्ने १० शब्दावली
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १०८६ पटक पढिएको
सज्जन राज पाेखरेल । चैत्र २३, २०७७ ।
ईन्जिनियरिङ् पेशाको आफ्नै शब्दावली हुन्छ । जस्तै आर्सिसि, डेन्सिटी मिक्स्चर, डिएनएस आदि । त्यसैगरी डाक्टरी पेशाको पनि आ आफ्नै शब्दावली हुन्छन् । आफ्नो क्षेत्रको शब्दावली नजान्दा मान्छे अन्योलमा पर्नसक्छ । त्यस्तै शेयर मार्केटको पनि आफ्नै जार्गन (शब्दावली) हुन्छ । शेयर मार्केटमा होमिने मानिसहरुको संख्या दिनानुदिन बढ्दो छ । इतिहासमै नभएको शेयर कारोबार अहिले हुँदै छ । तर हामी शेयर मार्केटमा प्रयोग गरिने सामान्य शब्दावली सुन्दा रनभुल्लमा पर्छौं ।
स्टक मार्केटमा राम्रो कमाउँछू भन्ने सोच राख्नु भएको छ भने, केही ट्रेडिङ् टर्मको ज्ञान राख्दा उत्तम हुन्छ ।
यी १० शब्दावलीले तपाईंहरुको शेयर बजार प्रतिको ज्ञानमा मद्दत गर्ने छ ।

१. नेप्से भनेको के हो ?
नेप्से अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड हो । नेप्से वि.सं. २०५० सालमा स्थापना भएको थियो । यसको मुख्य उद्देश्य नेपालमा पुँजी बजारको संस्थागत विकासका लागि धितोपत्र विनिमय बजारको रुपमा कार्य गर्नु हो । यसले आन्तरिक पुँजीको परिचालनमा गतिशिलता, सरलता र सुलभता ल्याउने तथा स्वच्छ कारोबार गराउनका लागि आवश्यक व्यवस्था मिलाउँछ ।
२. स्टक भनेको के हो ?
स्टकलाई नेपालीमा धितोपत्र भनिन्छ । सरकार तथा सूचीकृत कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजारलाई स्टक भनिन्छ । उदाहरण का लागि ज्योति लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६६ लाख कित्ता धितोपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
३. स्टक मार्केट भनेको के हो ?
स्टक मार्केट भनेको वित्तिय बजार हो जहाँ सरकार तथा सूचीकृत कम्पनीहरुको धितोपत्र किनबेच हुन्छ । नेपालको स्टक मार्केट नेप्सेले निगरानी गरेको छ ।
४. शेयर भनेको के हो ?
शेयर भनेको स्टक अर्थात् धितोपत्रको इकाइ हो । कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै टुक्रामा विभाजन गरी लगानीकर्तालाई बिक्री गरिन्छ । त्यो पुँजीको धेरै टुक्राको एक टुक्रालाई शेयर भनिन्छ । उदाहरणका लागि, ज्योति लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले प्रति शेयर रु १०० अंकित दरका ६६ लाख कित्ता धितोपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
५. आइपिओ भनेको के हो ?
सरकार तथा सूचीकृत कम्पनीले पुँजी वृद्धि गर्नकालागि प्रथम पटक जारी गर्ने शेयरलाई आइपिओ (IPO Initial Public Offering) भनिन्छ । आइपिओको खुल्ने र बन्द हुने मिति पहिल्यै तोकिएको हुन्छ ।
६. बियर मार्केट भनेको के हो ?
बियर मार्केट भनेको उँधो उन्मुख बजार हो । यस्तो अवस्थामा सूचीकृत कम्पनीहरुको शेयर मूल्य निरन्तर रुपमा घट्दो अवस्थामा हुन्छ ।
७. बुल मार्केट भनेको के हो ?
बुल मार्केट अर्थात् उँभो उन्मुख बजार हो । यस्तो अवस्थामा सूचीकृत कम्पनीहरुको शेयर मूल्य निरन्तर रुपमा बढ्दो अवस्थामा हुन्छ ।
८. ब्लू चिप स्टक भनेको के हो ?
ब्लू चिप स्टक अर्थात् यस्तो कम्पनीको स्टक जुन लामो समयदेखि फाइदामा छ, र लगानीकर्तालाई कम्पनीले नगद तथा शेयर लाभांश दिइरहन्छ । यस्ता स्टक भएका कम्पनीको पुँजी ठूलो हुन्छ ।
नेपालका केही ब्लू चिप स्टकहरु
नबिल बैंक लिमिटेड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
साल्ट टेडिङ् कर्पोरेशन
९. ब्रोकर भनेको के हो ?
ब्रोकर अर्थात् दलाल (व्यक्ति वा संस्था) जसले लगानीकर्ताको शेयर किनबेच गरिदिन्छ, जसबापत् उसले/त्यसले कमिशन पाउँछ । नेपालमा विभिन्न किसिमका धितोपत्र किनबेच गर्दा लगानी कर्ताले दलाललाई तिर्नुपर्ने कमिशन तल उल्लेख गरिएको छ ।
क्र.सं. विवरण (रु.मा) कमिशन (प्रतिशत)
१. ५०००० सम्म ०.४०
२. ५०००१ देखि ५००००० सम्म ०.३७
३. ५००००१ देखि २०००००० सम्म ०.३४
४. २०००००१ देखि १००००००० सम्म ०.३०
५. १००००००० देखि माथि ०.२७
सरकार तथा संस्थागत ऋणपत्रको कारोबारमा
क्र.सं. विवरण (रु मा) कमिशन (प्रतिशत)
१. ५००००० सम्म ०.१०
२. ५००००१ देखि ५०००००० सम्म ०.०५
३. ५०००००० देखि माथि ०.०२
समूहिक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा
क्र.सं. विवरण (रु मा) कमिशन (प्रतिशत)
१. ५००००० सम्म ०.१५
२. ५००००१ देखि ५०००००० सम्म ०.१२
३. ५०००००० देखि माथि ०.१०
१०. मार्केट इण्डेक्स भनेको के हो ?
Market Index = Current Market Capitalization *100
Base Market Capitalization
सूचीकृत धितोपत्रको आजको कुल बजार मूल्य र कुनै आधार वर्षको कुल बजार मूल्य बीचको अनुपात नै बजार परिसूचक हो ।
११ Nepse Index/Market Index भनेको के हो ?
नेप्सेले सर्वप्रथम २०५०माघ ३० गते देखि नेप्से इन्डेक्स लाई हिसाब गर्न सुरु गरेको थियो । त्यस दिनको नेप्से इन्डेक्स लाई १०० मानेर हिसाब गरिएको थियो । त्यसभन्दा पछाडी माघ ३० गतेकै इन्डेक्सको अधारमा र त्यहाँबाट भएको मूल्य परिर्वतनको आधारमा नेप्से इन्डक्सको हिसाब हुँदै आइरहेको छ ।
नेप्सेमा नयाँ कम्पनि सूचिकृत हुनासात बेस मार्केट क्यापिटलाइजेशन परिवर्तन हुन्छ, जसलाई एड्जस्टेड बेस मार्केट क्यापिटलाइजेशन भनिन्छ ।
Adjusted Base Market Capitalization =
Today’s Market Capitalization+Added capital * Old Base Market Capitalization
Todays Martket Capitalization
Nepse index/Market index को मान समय अनुसार निकाल्दै आईन्छ ।
नेपालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रत्येक दिन यस प्रकारको परिसूचक तयार गर्दछ, जसलाई नेप्से इण्डेक्स Market index भनिन्छ । नेपाली स्टक सूचीकृत कम्पनीहरुलाई वाणिज्य विकास बैंक, वित्तिय कम्पनी, बीमा कम्पनी लघुवित्त, जालविद्युत, उत्पादन तथा प्रशोेधन होटल, अन्य र व्यापार गरी १० समूहमा विभाजन गरिएको छ । ती सबै समूहका बेग्ला बेग्लै परिसूचक हुन्छन् ।