देशलाई राजनीतिक स्थिरता दिन नेपाली काँगे्रस अग्रसर हुनुपर्छः प्रकाशमान सिंह
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३८२ पटक पढिएको
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि राजीनामा दिनुपर्ने बताएका छन् । नेता सिंहले आफ्नो निजि निवास चाक्सीबारी स्थित आइतबार एमाले र माओवादी केन्द्र परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली काँग्रेसमा प्रवेश गराएका थिए ।
सिंहको निजि निवासमा आयोजना गरिएको कार्यकर्ता प्रवेश कार्यक्रममा बोल्दै सिंहले प्रम ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएको र समाजवादी पार्टीले पनि सरकारको राजीनामा माग नगरेको भए पनि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा भएपनि राजीनामा दिनुपर्ने उनले भनेका छन् ।
सिंहले सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिनुपर्ने र समाजवादी पार्टी पनि अनैतिक सरकारको राजीनामाको लागि प्रमुख विपक्षी दल नेपाली काँगे्रससँग मिलेर जानुपर्ने धारणा व्यक्त गरे । उनले भने, “नयाँ सरकार गठनको लागि संख्या नपुग्दै खाली सरकार परिर्वतनको कुरा गरेर मात्र हुँदैन” । कांग्रेसले न्यूनतम रुपमा भए पनि राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागू हुनुपर्ने भन्ने कुरामा सिंहले जोड दिएका थिए ।
सिंहले कम्युनिष्टहरुले पाएको सरकार सञ्चालनको ५ वर्षसम्मको म्याण्डेट पूरा गर्न नसकेको बताएका छन् । “अब बाँकी रहेको समयमा देशको राजनीति अस्थिरता तर्फ उन्मुख हुने भएकाले यसलाई स्थिर बनाउन सबै दलहरु मिलेर अगाडी बड्नुपर्ने छ”, सिंहले भने ।