मलाई सोध्दै नसोधी फोटो प्रयोग गरियो : कुलमान घिसिङ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४४२ पटक पढिएको
आफूलाई जानकारी नदिई नेकपा (माओवादी केन्द्र)ले चुनावी पोस्टरमा आफ्नो फोटो प्रयोग गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ती जनाएका छन् ।
उनले तत्काल पोस्टरबाट आफ्नो फोटो हटाउन माओवादी केन्द्रलाई आग्रह गरेको छन्। “मलाई थाहा नै थिएन । मिडियाबाट थाहा पाएँ । फोटो हटाइदिन भनिसकेको छु,” उनले भने, “हट्छ भनेको छ ।”
आफूलाई सोध्दै नसोधी आफ्नो फोटो प्रयोग गरेकाले उनले आपत्ती जनाएका हुन् ।
एउटा पोस्टरमा घिसिङको तस्बिर राखेर पार्टीको प्रचार गरिएको छ । पोस्टरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मासँगै घिसिङको तस्बिर प्रयोग गरिएको हो ।
तीनजनाको तस्बिरसहितको पोस्टरमा भनिएको छ, ‘अँध्यारोबाट उज्यालोको यात्रा’ ।
प्रचण्डलगायत अन्य नेताको आधिकारिक फेसबुक पेजमा उक्त पोस्टर शेयर गरिएको छ । प्रचण्डको फेसबुकमा पोस्टर शेयर गर्दै लेखिएको छ, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ ।