केरलामा देखियो नोरोभाइरस

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५९ पटक पढिएको

 

दक्षिण भारतको केरला राज्यमा नोरोभाइरस फेला परेको पुष्टि भएको छ। यो भाइरसलाई अङ्ग्रेजीमा ‘विन्टर भमिटिङ बग’ पनि भनिन्छ। यसको सङ्क्रमण हुँदा मानिसलाई उल्टी र पखाला लाग्ने गर्छ ।

अतिसङ्क्रामक भनिएको नोरोभाइरस जनावरबाट मानव शरीरमा सर्छ । विज्ञहरूले यसलाई "भाइरसको संसारको फरारी" को सङ्ज्ञा दिएको बीबीसीले जनाएको छ ।

इङ्ग्ल्यान्डमा यो वर्षको जुलाई महिनामा १५४ जनामा नोरोभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस्तै दुई हप्ताअघि वायनाड जिल्लाको विथिरनजिकै रहेको पुकोडेस्थित एक पशुचिकित्सा क्याम्पसका १३ जना विद्यार्थी नोरोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो। केरलाकी स्वास्थ्यमन्त्री वीना जोर्जले शुक्रवार सर्वसाधारण नागरिकलाई नोरोभाइरसबारे सतर्क रहन आग्रह गर्दै त्यसबाट जोगिने उपायहरू सार्वजनिक गरेकी छिन् । 

उक्त क्याम्पसका अधिकारीहरूका अनुसार सङ्क्रमण सबैभन्दा पहिले क्याम्पस परिसर भन्दा बाहिर बस्ने विद्यार्थीहरूमा देखा परेको थियो। बीबीसीका अनुसार स्वास्थ्य अधिकारीहरूले त्यसको नमुना लिएर परीक्षणका लागि अलाप्पुझास्थित भाइरस विज्ञान संस्थान (एनआईवी) मा पठाएका थिए । पशुचिकित्सा विज्ञान क्याम्पसका विद्यार्थीहरूको विवरण राख्दै अहिले यो भाइरसबारे सर्वसाधारणलाई  जानकारी दिन थालिएको छ ।

यो भाइरस दूषित खाद्य पदार्थ, पानी र सङ्क्रमित व्यक्तिबाट फैलिन्छ । पानी स्वच्छ राख्न ‘सुपर क्लोरिनाइजेशन’ गरिएको अधिकारीहरूले जनाएका छन् । स्वस्थ मानिसमा नोरोभाइरसको प्रभाव त्यति धेरै नपर्ने भए पनि बालबालिका, वृद्ध र स्वास्थ्यसम्बन्धी अन्य समस्या झेलिरहेका मानिसहरूलाई भने गम्भीर प्रभाव पार्न सक्ने बताईएको छ ।

 

तस्बिर :विज्ञान फोटो पुस्तकालय/बीबीसी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित