मलालाले गरिन् विवाह

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२६ पटक पढिएको

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आफ्नो प्रेमी आसिर मलिकसँग विवाह गरेकी छिन् । बालिकाहरूको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले आफ्नो ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसार ‘निकाह’ गरेको तस्बिर सहित खुशी साटेकि छिन् । 

आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण भएको भन्दै २४ वर्षीया मलालाले ट्वीटरमा लेखेकी छिन् – ‘आजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो । आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं । हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं । हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ। जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं ।’

मलाला युसुफजाई पाकिस्तानमा जन्मेकी हुन् । उनलाई सन् २०१२ मा बालिकाहरूको शिक्षा पाउने हकबारे बोलेको भन्दै तालिबान आतंकवादीहरूले गोली हानेका थिए । त्यति बेला उनी ११ वर्षकी मात्र थिइन् । 

उनलाई त्यसपछि बर्मिङ्घमको अस्पताल लगिएको थियो । उनले त्यहीँ बसेर बालिका शिक्षा क्षेत्रमा वकालत गर्दै आएकी छिन् ।

कयौं महिनाको शल्यक्रिया र पुनर्स्थापनापछि सन् २०१४ मा उनी बेलायतको नयाँ घरमा आफ्नो परिवारसँग बस्न थालिन् । आफ्नो बुवाको सहयोगमा उनले मलाला कोष स्थापना गरिन् जसले बालिका शिक्षामा सहयोग गर्दै आएको छ । उनी सबभन्दा कम उमेरकी नोबेल विजेता हुन् । कम उमेरमै बालिका शिक्षा क्षेत्रमा काम गरेबापत् उनको योगदानको कदर गर्दै सन् २०१४ डिसेम्बरमा मलालालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । 

उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सन् २०२० मा दर्शन, राजनीति र अर्थशास्त्रमा ग्र्याजुएट गरेकी थिइन् ।

आसिर र मलालाको भेट कहिले भएको थियो भन्ने कसैले यकिन गरेको छैन । तर सन् २०१९ मा आसिरले सार्वजनिक गरेको एक फोटोमा मलाला पनि सँगै देखिएकी छिन् । बर्मिङ्घमको एक स्टेडियममा भएको क्रिकेट प्रतियोगितामा मलाला र आसिर एउटा सामूहिक फोटोमा सँगै देखिएका थिए ।

मलाला र आसिरको बिहेको खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनीहरूलाई संसारभरबाट बधाइ दिइरहेका छन् । मलालाले आफ्नो श्रीमानबारे थप जानकारी उल्लेख गरेकी छैनन् । तर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनका श्रीमान आसिर को हुन् भन्नेबारे उल्लेख गरेका छन् । द न्यूयोर्क टाइम्सका अनुसार आसिर पाकिस्तान क्रिकेट बोर्डको म्यानेजर हुन् । 

आसिरले सन् २०१२ मा पाकिस्तानको लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेसबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका  थिए । पाकिस्तान क्रिकेट बोर्डमा आवद्ध भएको भने सन् २०२० मेदेखि हो । उनले पाकिस्तान सुपर लिगको फ्रेन्चाइज मुल्तान सुल्तान्समा पनि अपरेसनल म्यानेजरका रूपमा काम गरेका थिए ।

उनको पाकिस्तानमै एउटा लिग फ्रेन्चाइज पनि छ जसको नाम लास्ट म्यान स्ट्यान्ड्स हो । आसिरले आफ्नो प्रोफाइलमा उल्लेख गरेअनुसार उनले तल्लो तहमा भएको क्रिकेटको क्षमतालाई संस्थागत र व्यवस्थित बनाउन यो लिग बनाएका हुन् ।

आसिर विभिन्न नाटकहरूमा पनि आवद्ध भएको बताइएको छ । भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार उनी नाटक निर्माण गर्ने ड्रामालाइन नामको संस्थाका अध्यक्ष पनि थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित