गुगल भन्दा बढी प्रयोग भयो टिकटक
- वर्ल्ड दैनिक
- १ साल अघि
- १३४ पटक पढिएको

टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । संसार भर भाइरल भिडियो एपले अब अमेरिकी सर्च इन्जिन गुगल भन्दा बढी प्रयोग गरिने अनलाइन साइट बनेको हो ।
सूचनाप्रविधि सुरक्षासम्बन्धी कम्पनी क्लाउडफ्लेअरले सार्वजनिक गरेको विवरण विवरण अनुसार इन्टरनेटका वेबसाइटहरूको नयाँ ‘वरियता सूची’ मा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामानै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाए पछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थानमा रहँदै आएको छ ।
क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ‘ट्राफिक’ को निगरानी गर्ने उसको उपकरण क्लाउडफ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ । सार्वजनिक विवरण अनुसार गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम दश स्थानमा थिए ।
टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारीको ठुलो हात रहेको अनुमान भैरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार मानिसहरू लकडाउनका बेला घरैमा बस्नुपर्ने बाध्यतामा उनीहरूले मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा धेरै जाने गरेको हुनसक्छ।
यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप तीन अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ । बाइटडान्स नामको चिनियाँ कम्पनीको स्वामित्व रहेको सामाजिक सञ्जालको वेबसाइट टिकटकको हाल संसारभरि एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन् र त्यो सङख्या बढ्दो क्रममा रहेको छ ।
छोटो भिडियोहरु बनाएर पोस्ट गर्ने प्लेटफर्मको रुपमा परिचित टिकटकको लोकप्रियता प्राविधिक क्षेत्रमै खुशीको कुरा मानिदै आएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकको व्यापकता अन्त्य गर्न अनेकौँ प्रयास गरेपनि यसलाई बन्द गर्न सकेनन् । त्यसै गरि भारतमा चाहिँ यसमाथि पूर्ण प्रतिबन्ध छ । युरोपेली नियामकहरुले पनि बाल सुरक्षा र डाटा सम्बन्धी यसको नीतिमाथि प्रश्न उठाउँदै आएका छन् ।
तर यी सबै समस्याका बाबजुत पनि टिकटकले आफ्नो लोकप्रियता कायमै छ । यससँगै टिकटकमा विभिन्न सामग्री पोस्ट गरेर त्यसैको कमाइबाट जीवन चलाउने क्रम पछिल्लो समय बढेको छ । टिकटकमा हिट भएकै कारण कतिले मनोरञ्जन क्षेत्रमा नाम कमाएका छन् भने नेट्फ्लिक्स जस्तो ठूलो प्लेटफर्ममा समेत अवसर पाइरहेका छन् ।