टिकटकको नयाँ उपलब्धि : विश्वभर एक अर्ब प्रयोगकर्ता

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४५३ पटक पढिएको

 

प्राविधिक उद्योगमा टिकटकले आफ्नो एक अर्ब प्रयोगकर्ता बनाउन सफल भएको छ । गुगल र फेसबुकको स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक संजाल प्लेटफर्म बनेको हो । कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत यसबारे घोषणा गर्दै दुनियाँभरिबाट मासिक एक अर्ब भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको बताएका हुन् । 

यसअघि फेसबुक, युट्युब अनि फेसबुक कम्पनीकै इन्स्टाग्रामका मात्र एक अर्ब प्रयोगकर्ता रहेका थिए । गुगल र फेसबुक बाहेकका सामाजिक संजाल प्लेटफर्मले विश्वभरबाट यति ठूलो सङ्ख्यामा प्रयोगकर्ता बनाउनु एकदम दुर्लभ मानिने सिएनएनले जनाएको छ । 

त्यस्तै स्न्यापच्याट र ट्वीटरले लामो समय अगाडि सेवा सुरु गरेको भएपनि आफ्नो प्रयोगकर्ताको सङ्ख्या एक अर्ब नजिक पुर्याउन सकेको छैन । यसरी छोटा भिडियोहरु बनाएर पोस्ट गर्ने प्लेटफर्मको रुपमा परिचित टिकटकको लोकप्रियता प्राविधिक क्षेत्रमै खुशीको कुरा मानिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकको व्यापकता अन्त्य गर्न अनेकौँ प्रयास गरेपनि यसलाई बन्द गर्न सकेनन् । त्यसै गरि भारतमा चाहिँ यसमाथि पूर्ण प्रतिबन्ध छ । युरोपेली नियामकहरुले पनि बाल सुरक्षा र डाटा सम्बन्धी यसको नीतिमाथि प्रश्न उठाउँदै आएका छन् । 

तर यी सबै समस्याका बाबजुत पनि  टिकटकले आफ्नो लोकप्रियता कायमै राखिरहेको छ । अन्य प्रतिस्पर्धी सामाजिक संजाल प्लेटफर्महहरुले टिकटकजस्तै विशेषता भएको, इन्स्टाग्राम रिल्स, युट्युब सर्टस, स्न्यापच्याट स्पटलाइट लगायत ल्याए पनि टिकटक प्रयोगकर्ता गत महिना २५ प्रतिशतले बढेका छन् ।

विशेषगरी कोभिड महामारीका समयमा मानिसहरुले अधिकतम समय मोबाइल लगायत विभिन्न डिभाइसहरुमै बिताउने भएकाले पनि यसको प्रयोग झनै बढेको विश्लेषण छ । यससँगै टिकटकमा विभिन्न सामग्री पोस्ट गरेर त्यसैको कमाइबाट जीवन चलाउने क्रम पछिल्लो समय बढेको छ । टिकटकमा हिट भएकै कारण कतिले मनोरञ्जन क्षेत्रमा नाम कमाएका छन् भने नेट्फ्लिक्स जस्तो ठूलो प्लेटफर्ममा समेत अवसर पाइरहेका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित