नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४८८ पटक पढिएको
नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै

पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ ।

“सुरु–सुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि सेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा सेयर कारोबार गर्ने छन्”, इम्पेरियल सेक्युरिटीज कम्पनी प्रालि नेपालगञ्जका प्रमुख उदय अधिकारी भन्नुहुन्छ । उहाँले स्थापनाकालमा घर–घरमा पुगेर बैंक र डिम्याट खाता खोल्न प्रोत्साहित गरेको र त्यसबाट प्रभावित भएर आठ हजार हाराहारीमा खाता खोलिएको जानकारी दिँदै प्राथमिक निष्कासन (आइपिओ)परेर त्यसलाई बजारमा बेच्न खोज्नेको बाहुल्य रहेको तर दोस्रो बजारमा कारोबार गर्नेको सङ्ख्या कम भएको बताउनुभयो ।

सेयर कारोबारका विषयमा एउटा घरमा एक जनालाई जानकारी भएपछि उसकै आधारमा सबै सदस्यले र आफन्तको समेत गरेर २५ जनासम्मको सेयर कारोबार गर्ने प्रवृत्ति रहेको उहाँको भनाइ छ । अधिकारीले खासगरी विद्यार्थीले आफ्नो आइपिओमार्फत परेको सेयरबाट कलेजको शुल्क तिर्ने र खाजा खर्च चलाउने गरेको बताउनुभयो । सेयर कारोबारबाट केही विद्यार्थीले यस्तो लाभ लिन थालेपछि अन्यले पनि यसको सिको गरेको पाइएको छ । यसमा स्नातक तहका व्यस्थापन पढ्ने विद्यार्थी सेयर कारोबारमा बढिरहेका छन् । यसबाहेक, शिक्षा, मानविकी, वाणिज्य सङ्कायका विद्यार्थीले समेत सो कारोबार गरेका छन् ।

उहाँले कोरिया, कुवेत, जापान र खाडी मुलुकमा वैदेशिक रोजागारीमा गएकाले नेपालगञ्जको सेयर बजारमा उत्साहजनक लगानी गरेको उल्लेख गर्दै सबैभन्दा बढी खाडी मुलुकमा गएकाको सेयर लगानी बढी भएको बताउनुभयो । यस्तो लगानी गर्नेमा पुरुषसँगै महिलाको सङ्ख्या पनि कम नभएको बताइएको छ । वैदेशिक रोजगारीमा गएकाले अनलाइनमार्फत धेरै कारोबार गर्ने गरेको पाइएको छ ।

ब्रोकरमार्फत विभिन्न स्कुल र कलेजमा गएर वित्तीय साक्षरताका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अधिकारीले यस वर्ष बाँकेका पाँच र बर्दियाका चार कलेजमा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । त्यसबाट सेयर बजारको दोस्रो बजारमा कारोबार गर्ने विषय थाहा नभएकाले त्यसबारमो पनि चर्चा चलाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित