स्थानीय तह निर्वाचन अपराधदेखि सार्वजनिक पद धारणसम्म
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०३ पटक पढिएको
मोरङमा विगतका आपराधिक घटनामा संलग्न व्यक्तिले पनि स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आपराधिक क्रियाकलापमा संलग्न रहेकाले सार्वजनिक क्षेत्रमा आकर्षक पदमा बसेका नौ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएकी ४३ वर्षीया शिल्पा कार्कीविरुद्ध उजुरी परेको छ । गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका अमरेन्द्र यादवले कार्कीविरुद्ध उजुरी दिएका छन् ।
त्यसैगरी केराबारी गाउँपालिका–८ मा एमालेका उम्मेदवार ५७ वर्षीय टिकाराम चापागाईमाथि पनि काठ तस्करीमा संलग्न भएको आरोप लागेको छ । सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका २७ वर्षीय दिलबहादुर राईविरुद्ध उजुरी परेको छ ।
एमालेबाट दलित महिला सदस्यमा मनोनयनमा परेकी ३७ वर्षीया सन्तोषी सार्कीले अमजुंगी सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष पदबाट राजीनामा दिएकी छैनन् । एमालेबाट महिला सदस्य मनोनयन गरेकी केराबारी गाउँपालिका–१ की ४७ वर्षीया पवित्रा लिम्बु अहिले पनि गाउँपालिकाको जिम्मेवारीमा रहेको उजुरी परेको छ ।
रंगेली नगरपालिका–८ मा नेपाली काँग्रेसबाट वडा सदस्य मनोनयन गरेका भीमकिशोर मल्ल ठकुरीविरुद्ध पनि उजुरी परेको छ । रंगेली नगरपालिकामा उनको नाममा बेरुजु देखिन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले उजुरीमाथि छानबिन भइरहेको बताए । उम्मेदवारलाई गुनासो सुनाउने मौका दिएपछि आज (बिहीबार) साँझ ५ बजेसम्म उम्मेदवारीबारे निर्णय गरिने उनले बताए ।