स्थानीय तह निर्वाचनका लागि तनहुँमा २३ दल दर्ता
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०२ पटक पढिएको
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा २३ राजनितिक दल दर्ता भएका छन् । कार्यालयका अनुसार ६ ठूला दलसहित १७ साना दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार सबै दलका प्रतिनिधिहरुलाई चुनाव चिह्न प्रदान गरिनेछ भने दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उमेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने भएको छ । राष्ट्रिय मान्यताप्राप्त बाहेक १७ वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने उनले बताए ।
निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतटपेटिकाको ४३, ८० र ८५ लिटर क्षमता रहेको जनाईएको छ । चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालयप्रमुख ढकालले जानकारी दिए । रासस