स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२८ पटक पढिएको
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।

दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि निर्वाचन आयोगले यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा बागलुङमा सक्रिय रहेका १३ दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख नारायणदत्त शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १३ दलले चिन्हका लागि विवरण बुझाएका हुन् । दल दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पार्टी, विवेकशील साझा पार्टी, नेकपा माले, नेपाली काँग्रेस (विपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल र मौलिक जरो किलो पार्टी रहेका छन् ।
यसअघि २०७४ सालमा भएको निर्वाचनमा बागलुङमा आठ दल निर्वाचनमा सहभागी भएका थिए ।