मेलम्चीका स्थानीयहरु पुरिएका घर निकाल्न खोज्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९६ पटक पढिएको

 

मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् । केहीले त घरमा बस्न पनि थालिसकेका छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन् ।

प्रशासनिक निकायले अहिले नै बस्ने बेला नभएको बताउँदै आए पनि उनीहरु घर खोजेर बिग्रे भत्केका संरचना निर्माण गर्दै बस्न थालेका हुन् ।  जाडो सुरु हुन लागेकाले थप समस्या पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग गरिरहेका राससले जनाएको छ ।

मेलम्चीमा रहेका घरका आधाजति मानिस बस्न थालिसकेका छन् । आधा मानिस घर खोतल्दै छन् । धेरैका घर जग्गा बैंकमा राखेको छ । कतिपय ऋणको किस्ता कसरी तिर्ने भनेर चिन्तित छन् । यस्तै यस्तै समस्यालाई लिएर स्थानीयहरु चिन्तित छन् । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार प्रारम्भिक आँकडामा नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताउदै अझै क्षतिको विवरण आउनेक्रम रहेको राससलाई बताएको छ ।

बाढी र पहिराले छियाछिया पारेका मेलम्चीका तटीय बस्ती र अलिक परका गाउँले अझै पनि त्रासमा छन् । माथिल्लो क्षेत्रमा विनावर्षा पनि ठाउँठाउँमा लेदो खस्न रोकिएको छैन । छियाछिया पारेको पहाडबाट सुक्खा पहिरो खस्ने जोखिम कायमै छ । कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिस्का छन् । मुख्यगरी गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले यहाँ तहसनहस पारेको हो ।

 

तस्बिर: रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित