निर्वाचन आचारसंहितामा एमालेले हस्ताक्षर गरेन
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३३३ पटक पढिएको
निर्वाचन आचारसंहिता २०७८ को प्रभावकारी कार्यान्वयनमा नेकपा एमालेले लिखित हस्ताक्षर गरेको छैन । आचारसंहिता सम्झौतामा हस्ताक्षर समारोहमा एमाले कानून विभाग प्रमुख रमेश बडालले तनावपूर्ण वातावरण रहेको बताए ।

उनले बैठकमा तनावको वातावरण रहेको र तनावको वातावरणमा कुनै पनि कार्य गर्नुहुँदैन भनेर नै आचारसंहिताको प्रतिबद्धतामा हस्ताक्षर नगरेको बताए ।
उनले आचारसंहिताका सबै बुँदा पढेर बुझेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताए । बडाल र निर्वाचन विभागका उपप्रमुख निरज आचार्य आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी नै फर्किएका हुन् ।
प्रतिबद्धता पत्रमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाललगायतले हस्ताक्षर गरेका छन् ।
मंगलबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलको लिखित प्रतिबद्धताका लागि बैठक बोलाएको थियो । वैशाख ३० गते हुने निर्वाचनका लागि ७९ दल दर्ता भएका छन् ।