प्रधानन्यायाधीश जबराले बोलाएको बैठक स्थगित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २९८ पटक पढिएको

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले आयोगका सदस्य रहेका लोक सेवा आयोग अध्यक्ष काठमाण्डू बाहिर रहेकोले बैठक स्थगित गरिएको बताएको हो ।
तर नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले मङ्गलवार आयोगमा सदस्य रहने कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडु तथा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई भेटेर बैठकका सहभागी नहुन आग्रह गरेको बताइएको छ ।
न्याय सम्पादनको कामबाट अलग रहेका जबराले न्याय सेवाको प्रशासनिक जिम्मेवारीहरू रहने आयोगको लागि डाकिएको बैठक अन्तिम समयमा आएर स्थगित हुनुलाई उनको अर्को असफलताका रूपमा अर्थ्याएका छन् ।
प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने प्रावधान छ । अध्यक्ष र अन्य दुई जना सदस्य उपस्थित रहेमा गणपूरक सङ्ख्या मानिने र बहुमतले निर्णय गर्न सकिने व्यवस्था न्याय सेवा ऐन २०७३ ले गरेको छ ।
एसोसिएसन दुई महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश जबरको राजीनामा माग गर्दै आन्दोलनमा छ । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको अगुवाइमा हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा उनीहरुले नाराबाजी र कोणसभा समेत गरिरहेका छन् । कोणसभाका क्रममा भने हाते माइक प्रयोग गर्ने गरिएको छ ।
गत मंगसिर १५ गते देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन भएपनि सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई अस्विकार गर्दै आएका छन् । १२ बजे कानून व्यवसायीहरुको प्रदर्शन सकिएपछि मात्रै सर्वोच्च अदालतमा इजलास बस्ने गरेको छ ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि बारको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै सर्वोच्च परिसरमा पनि धर्ना दिदै आएको थियो । प्रधानन्यायधिस जबरालाई सर्वोच्चको वैकल्पिक गेट बाट प्रवेश गर्न समेत उनीहरु पछिपरेका थिएनन् । तर प्रधानन्यायाधीश जबरा भने अझै राजीनामा नदिने अडानमा छन् ।