माल्टामा गाँजालाई वैधानिकता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३७२ पटक पढिएको
माल्टाको संसद भवन बाहिर विधेयकका समर्थकहरूले खुशी मनाए

माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ विधेयक पारित गरेको छ । उक्त कानून अनुसार अब त्यहाँ व्यक्तिगत प्रयोगका लागि गाँजा खेती गर्न र बोक्न पाइने भएको छ ।
नयाँ कानुनमा व्यक्तिगत प्रयोगका लागि ७ ग्रामसम्म गाँजा बोक्न पाइने र घरमा चार वटा बोट लगाउन पाइने व्यवस्था रहेको बिबिसीले उल्लेख गरेको छ । यस सँगै गाँजालाई वैधानिकता दिने माल्टा पहिलो युरोपेली मुलुक बनेको छ ।
माल्टाका समानता मन्त्री ओएन बोनिसीले यो ऐतिहासिक कानुनले थोरै मात्रामा गाँजा बोक्नेहरूलाई कानुनी झमेला नहुने बताएका छन् । सुरक्षित र नियमित तरिकाले गाँजा प्रयोग गर्ने हरुलाई यस कानूनले सुनिश्चित गर्ने भन्दै लागूपदार्थको तस्करी यसले कम गर्ने उनको भनाई छ ।
समाचार अनुसार नयाँ कानूनले सार्वजनिक स्थल र १८ वर्षमूनिका केटाकेटीका सामू भने गाँजा तान्न प्रतिबन्ध लगाएको छ । संसदमा उक्त कानूनका पक्षमा ३६ र विपक्षमा २७ मत परेको थियो । यसका विपक्षीहरूले भने माल्टाका राष्ट्रपति जर्ज भेलालाई कानुनमा हस्ताक्षर नगर्न आह्वान गरेका थिए ।
द गार्डीयनका अनुसार यस अघि स्विट्जरल्याण्ड, लक्जमबर्ग र नेदरल्याण्ड्सका सरकारहरूले पनि उक्त कानूनको घोषणा गरेका थिए । त्यस लगत्तै जर्मनीले पनि गाँजालाई विनियमित बजार स्थापना गर्ने घोषणा गरेको थियो । इटालीमा यसबारे जनमत संग्रहको योजना गरिरहे पनि जबकि क्यानडा, मेक्सिको र १८ अमेरिकी राज्यहरूले पनि यसबारे कानून लागू गरिसकेका छन् ।
गाँजालाई वैधानिकता दिने पहिलो देशको रुपमा भने उरुग्वेलाई चिनिन्छ । उरुग्वे सन् २०१३ मा व्यक्तिगत प्रयोगको लागि गाँजा वैधानिक गरेका थिए । तर त्यहाँ भन्दा बढी नेदरल्यान्ड्समा यसको व्यापक प्रयोग भएको समाचारमा उल्लेख छ । तस्बिर : रोयटर्स